Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एक वर्ष अवधिमा २०५ जंगली जनावरको मृत्यु

एक वर्ष अवधिमा २०५ जंगली जनावरको मृत्यु

  • 357
    SHARES
  • एक वर्ष अवधिमा २०५ जंगली जनावरको मृत्यु

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ ।

    गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

    निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २०७८ साउन १ देखि २०७९ असार ३२ सम्म मरेका जनावरमध्ये चित्तल प्रजातिका जनावर सबैभन्दा बढी रहेका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा ४ र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताए ।

    यस्तै गत वर्ष ३७ वटा गैंडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, २ वटा चोरी सिकारी, १ वटा खाडलमा परेर तथा एउटा गैंडाको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीको भनाइ छ ।

    गत वर्ष अर्ना, जरायो र बँदेल १०/१० वटा मरेका छन् । १० वटै अर्ना, ७ वटा जरायो र ८ वटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । त्यस्तै एक/एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन ।

    यसैगरी सोही वर्ष ६ वटा बाघ, ५ वटा रतुवा, ५ वटा लगुना, ४ वटा घडियाल गोही, ३ वटा भुँडीफोर गरुड, ३ वटा निर बिरालो तथा ३ वटा मगर गोहीको मृत्यु भएको छ । अधिकांश जनावरको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

    यस्तै हात्ती, सर्प, अजिंगर, निलगाई, चखेवा तथा बाँदर दुई/दुईवटा मरेका तिवारीले बताए । निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानी हाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक/एक वटा मरेका छन् ।

    गत वर्ष प्रकृतिक कारणबाट ११४ वटा, कुकुरको आक्रमणबाट ५९ वटा, तारजालीमा परेर १६ वटा, सडक दुर्घटनाबाट ११ वटा, चोरी सिकारीबाट दुईवटा, खाडलमा परेर एउटा जनावरको मृत्यु भएको छ भने १२ वटा जनावरको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट २२२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष १५४ वटा अजिंगर १४ वटा चित्तल, ९ वटा मगर गोही, ८ वटा कछुवा, ७ वटा बाघ, तथा एउटा राज गोमन (किङ कोब्रा)सहित सातवटा सर्पको उद्धार गरिएको छ ।

    त्यस्तै ४ वटा लगुना, ३ वटा गैंडा, ३ वटा निरबिरालो, २ वटा निलगाई, २ वटा चिल र २ वटा रतुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । निकुञ्जले गत वर्ष एक-एक वटा चितुवाको बच्चा, गिद्ध, जरायो, लाटोकसेरो, भुँडीफोर गरुड, बँदेल र मयुरको उद्धार गरेको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij