Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि आग्रह

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि आग्रह

  • 395
    SHARES
  • विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि आग्रह

    कञ्चनपुर । भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ ।

    विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ ।

    ‘विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा गरी ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ’, नगर प्रमुख पदम बोगटीले भने ।

    ‘विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउन सम्बन्धित पक्षसँग सहजीकरणका लागि अगाडि बढाइरहेका छौं ।’ उक्त जग्गा विमानस्थलका नाममा रहने गरी आवश्यक सहयोग र सहजीकरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत ध्यानाकृष्ट गरिएको उनले बताए ।

    २०३६ देखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाका कारण देखाउँदै २०५६ देखि बन्द रहेको छ । पश्चिमी प्रवेशद्वार भारतको राजधानी नयाँ दिल्लीबाट ३०० किलोमिटरको दुरी र भारतको औद्योगिक नगर रुद्रपुरबाट १५० किलोमिटरको दुरीमा विमानस्थल पर्दछ ।

    विमानस्थल निर्माण भएमा भारतीय पर्यटकलाई तान्न सकिने नगर प्रमुख बोगटीको भनाइ छ । यसअघि विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच त्रिपक्षीय सम्झौता गरिएको थियो ।

    मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा-चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरिएको थियो ।

    विमानस्थल निर्माणका लागि कान्छाराम-केएस-उमा एन्ड कम्पनीसँग तीन वर्षमा विमानस्थलको निर्माणका कार्य पूरा गर्नका लागि ४५ करोड ६६ लाख ७१५ मा ठेक्का सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

    हाल विमानस्थलमा रहेको १ हजार मिटर र राष्ट्रिय निकुञ्जसँगैको रत्न बाटिका र नेपाली सेनाको खेल मैदान रहेको ६६२ मिटर गरी १ हजार ६६२ मिटरमा धावनमार्ग निर्माण गरिने योजना रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij