वेबटिभी खबर
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधै बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन् ।
गतवर्ष चार कोठा पहिरोले पुरिएको उनकाे घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरो भित्र पसेपछि उनीहरूलेले एउटै कोठामा खाने र बस्ने गर्दै आएका छन् ।
‘आकाश गर्जिन थाल्यो भने मन नै सिरिङ्ग हुन्छ, दिउँसोमा त बरु देखिन्छ तर राति पहिरो आयो भने गुहारसम्म पनि नपाइ मरिन्छ की भन्ने लाग्छ’, विटालु दुःखेसो पोख्छन् । १३ जनाको उनकाे परिवारमा छोराबुहारी अलग्गै बस्छन् । घरअगाडि सानो ट्याङ्कीको पसल गरेर गुजारा गर्दै आएका विटालु पहिरोका कारण व्यापार पनि नभएको गुनासो गर्छन् ।
यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका उनका परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् । स्थानीय तहको निर्वाचनमा हामीले पहिरोबाट बचाउँछाैं भनी राजनीतिक दलका प्रतिनिधि घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग वा पहिरो नियन्त्रणका लागि पहल नगरेको विटालुकी श्रीमती उजेली गुनासो गर्छिन् ।
‘पानी पर्नेबित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ । त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ’, उजेली भन्छिन्।
बुटवल– ३ कै सतीकुमारी श्रेष्ठ पनि आकाश गजिर्ने बित्तिकै घर छाडेर हिँड्छिन् । चुरेको पहिरोका कारण घर जोखिममा रहेकाले पहिरोले पुरिने डरले उनी राति घरमा सुत्न सक्दिनन् । गत वर्षको पहिराले घरको भूइँतला पुरेपछि लामो समय सरसफाइमै श्रेष्ठले बिताउनु परेको थियो ।
‘गतवर्षको पहिरो बल्लबल्ल सफा गरेँ अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, राति थाहै नपाइँ मरिन्छ की भन्ने डरले अरुको घरमा गएर बस्छु’ उनी गुनासो गर्छिन् ।
श्रीमान् र छोराको निधनपछि घरमा एक्लै बस्दै आएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उनकाे भनाइ छ । ‘पहिरोका कारण पोहोरदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन’, उनले आफ्नो बेदाना सुनाइन् ।
अहिले पनि पानी पर्नेबित्तिकै उपमहानगरको–वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदो सहितको माटो र पानी बग्न थाल्दा यहाँका बासिन्दा घर छोडेर हिँडन बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी दायाँबायाँका बासिन्दा पनि चुरे क्षेत्रबाट पहिरो जान थालेपछि अतालिन्छन् ।
गत वर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट पीडित छन् ।
अहिले वर्षा सुरु भएसँगै ती क्षेत्रका बासिन्दा रातिम् घर छाड्न बाध्य छन् । वडा नं ३ का केशवराज पन्थीका अनुसार चुरे पहिरोको जोखिमका कारण यो क्षेत्रका बासिन्दाले अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने वित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उनकाे भनाइ छ ।
असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयवासीको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी घरघरमा पसेपछि उनीहरुले घर छोडेर हिँडेका थिए ।
गतवर्ष पहिरोका कारण करिब दुई दर्जन दर्जन स्थानीयवासीका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन गर्यो ।उक्त टोलीले अध्ययनमा पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर गर्यो ।
यहाँको पहिरोलाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर उक्त टोलीले राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयलाई प्रतिवेदन बुझायो ।
पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए पनि विगत एक वर्षमा भएका अनुगमन, वुक्षरोपण र सामान्य पर्खाल लगाउने कामले मात्र पहिरो नियन्त्रण हुने स्थिति बनेन ।
गत भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।
विज्ञ टोलीले दिएको सुझावका आधारमा ती दुबै स्थानमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयका सूचना अधिकारी निर्मल थापा बताउँछन् ।
गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । ‘जुनसुकै समयमा खस्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा रहनाका साथै गत वर्षको पहिराले बस्ती वरपर ढुङ्गा माटोसहितको पहिरोको अवशेष लथालिङ्ग अवस्थामा छ, अहिले त झन पहिराले बाँच्न दिँदैन की जस्तो लाग्छ’ , स्थानीय तुलसा सुवेदी भन्छिन् ।
पहिरो नियन्त्रणका लागि गतवर्ष स्थानीय तहले केही पहल गरे पनि सङ्घीय र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ ।
प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो पीडित क्षेत्र अनुगमनका लागि गए पनि ठोस् कदम चाल्न नसकेको तुलसा बताउँछिन् ।
‘अनुगमनले मात्रै केही हुँदैन, पहिरो नियन्त्रणका लागि ठोस् योजना ल्याउनुपर्छ’ सुवेदी भन्छिन् । वर्षभर नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि सोही समस्या झेल्नुपर्ने अवस्था आएको चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउँछन् ।
अझै पनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने हो बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उनकाे भनाइ छ । संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख र बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिए पनि पहिराको खतरा टरेको छैन ।
अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगरतर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोलातर्फ सोझ्याउने काम भएको थियो ।
विज्ञका प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो पीडित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । विसं तीर तत्कालीन राजा वीरेन्द्रले चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij