Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

 मह बिक्री नहुँदा किसान निराश

 मह बिक्री नहुँदा किसान निराश

  • 423
    SHARES
  •  मह बिक्री नहुँदा किसान निराश

    दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उनले ८३ घारबाट माहुरीपालन सुरुआत गरेका हुन् । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाई ठिकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थपे ।

    ‘घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन’, राणाले भने । जिल्लामै विगत वर्षभन्दा यस पटक मह उत्पादन बढेको छ । मह नबिकेपछि किसान निराश छन् । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले मह घरमै भण्डारण गरी बजार खोज्न थालेका छन् ।

    ‘बजारमा मह खपत हुन सकेको छैन, घरमा यत्तिकै राख्नु परेको छ,’ राणाले भने, ‘फेरि मह उत्पादन हुने याम सुरु भएको छ, बिक्रीको चिन्ता हुन थालेको छ ।’ उत्पादन राम्रो भए पनि महले बजार नपाएपछि निराश बनेको तुलसीपुरका मौरीपालक किसान उमेश थापा बताउँछन् ।

    खपत हुन नसक्दा घरमै मह राख्नुपर्ने अवस्था आएको घोराही–१८ अम्बापुरका मोहन खत्रीको भनाइ छ । किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । जिल्लामा हाल पाँच सयभन्दा बढी व्यावसायिक रुपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताए । ‘मह नबिक्दा मौरीपालक किसान के गर्ने भन्ने अन्यौलमा छन्’ , उनले भने । जिल्लामा हाल १५० टन मह बिक्री नभएर थन्किएको तथ्याङ्क महासङ्घसित छ ।

    ‘मह बिक्री नहुँदा लागत खर्च उठाउन समस्या भएको छ’, श्रेष्ठले भने । आयातीत महले पनि स्थानीय महको बजार प्रतिस्थापन गरेको छ । महको स्थानीय ब्रान्डलाई स्तरीय बनाउन जरुरी रहेको उनकाे भनाइ छ । दाङको मह पोखरा, काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ । भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महमा चासो दिएका छैनन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरीजोनकी प्राविधिक सहायक नारायणी घर्ती मौरीपालक कृषकलाई मौरीको नस्ल सुधारदेखि व्यावसायिक रुपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएको बताउँछिन् । ‘बजारीकरणको काम कृषक आफैंले गर्ने गरेका छन्’, उनले भनिन् । यस पटक औसतमा प्रतिघार १२ दशमलव ८३ किलो मह उत्पादन भएको घर्तीले बताइन् । मौरीजोनमा घोराहीका १०१, तुलसीपुरका ४५ र बङ्गलाचुलीका ११ फार्म सूचीकृत छन् ।

    उत्पादित मह सहकारीमार्फत बेच्ने तयारी छ । बजारीकरणमा समस्या भएपछि यहाँका किसान सङ्गठित रुपमा एकद्वार प्रणालीमार्फत मह बिक्री गर्ने तयारीमा जुटेका छन् । मह उत्पादक किसानलाई सहकारी संस्थामा आबद्ध गराउँदै एकीकृत रुपमा मह बिक्री गर्ने तयारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij