वेबटिभी खबर
चितवन । आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी १ लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा १ लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए ।
एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका ९ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र ८ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए ।
गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरे ।
निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार राजस्व संकलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको हो ।
निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार राजस्व संकलन गरेको छ । निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले १५०, सार्क मुलुकका पर्यटकले १ हजार र विदेशीले २ हजार राजस्व बुझाउने गर्दछन् ।
गत वर्ष निकुञ्जले पर्यटकबाट ७ करोड २९ लाख ४५ हजार, जिप सफारीबाट २ करोड ७८ लाख ८० हजार तथा डुंगा सफारीबाट १५ लाख ७३ हजार राजस्व संकलन गरेको तिवारीले बताए ।
यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुंगा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९ लाख ४९ हजार, दण्ड सजायबाट ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट ७ लाख १७ हजार तथा अन्य शीर्षकबाट १७ लाख २० हजार राजस्व संकलन गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij