वेबटिभी खबर
जुम्ला । आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन् । कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन ।
पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो । आधुनिक शब्दले खस शब्द लोप हुँदै जाँदा खस भाषा नै संकटमा पर्दै गइरहेको भन्दै तत्कालीन जिल्ला विकास समितिले जुम्ली शब्दकोश प्रकाशनका लागि कार्यको थालनी गरेको थियो ।
जुम्ली शब्दकोश बनाउन चाहिने आवश्यक शब्द संकलनका लागि चन्दननाथ नगरपालिका-२ का ७६ वर्षीय रमानन्द आचार्यलाई जिम्मेवारी दिइएको थियो । अहिले आचार्य दिनरात संकलित खस शब्दको अर्थ लगाउने कार्यमै व्यस्त छन् ।
उनी एकाबिहानै खसिया आखर नामक पत्रिकाको कार्यालयमा आएर खस शब्दमै व्यस्त हुन्छन् । खस शब्दमा दक्ष आचार्यले झण्डै ३५ हजारभन्दा बढी खस शब्द संकलन गरिसकेका छन् ।
आचार्यका अनुसार खस शब्द संकलन गर्नेदेखि अर्थ लगाउनेसम्मको काम सकिसकेका छन् । कम्प्युटरमा टाइप गरेर प्रकाशनका लागि तयारी अवस्थामा पुगिसकेको छ । उनले आर्थिक अभावका कारण प्रकाशनमा ल्याउन नसकिएको जानकारी दिए ।
२०६५ वैशाख ११ गते तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले भाषा, संस्कृति र सभ्यता संरक्षणका लागि जुम्ली शब्दकोश प्रकाशन गर्ने निर्णय गरेका थिए । त्यसका लागि पहिलो वर्ष २ लाख विनियोजन भएको थियो ।
पहिलो वर्ष शब्द संकलन र आवश्यक सामग्री जुटाउनमै कार्य थालनी भएको थियो । २०६७ मा कृष्णचन्द्र घिमिरे स्थानीय विकास अधिकारी भएर आएपछि जुम्ली शब्दकोश प्रकाशन गर्न चाहिने थप आवश्यक सामग्रीसहित शब्द संकलनको कार्य अघि बढेको हो ।
जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा शब्द संकलनका लागि टोली खटिएका थियो । जिल्ला समन्वय समिति बनेपछि जुम्ली शब्दकोष प्रकाशनको काम ओझेलमा परेको खसभाषाका जानकार आचार्यले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij