Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

  • 523
    SHARES
  • दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

    तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढेका छन् । उक्त अस्पतालका अनुसार मौसमी रूघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको संख्या बढ्दै गएको हो ।

    उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अधिकांश रूघाखोकी र ज्वरोका बिरामी आउने गरेको अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा.दिवस ढकालले जानकारी दिए ।

    एक दिनमा झण्डै ३ सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनले भने, ‘उपचारमा आएका बिरामीमध्ये करिब ४० प्रतिशत रुघाखोकी र ज्वरोका बिरामी रहेका छन् ।’

    संक्रमणजन्य रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने हुँदा सुरक्षित हुन होम आइसोलेशनमा बस्न र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए ।

    उपचारमा संलग्न चिकित्सकले लक्षणका आधारमा बिरामीलाई औषधि लेखिदिने गरेका छन् । मौसमी रूघाखोकी लागेका व्यक्तिलाई निको हुनका लागि एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने चिकित्सक बताउँछन् ।

    टाइफाइड र निमोनियाका लागि भने एन्टीबायोटिक औषधि चलाउनुपर्ने अवस्था रहेको डा.ढकालले बताए । कोभिड जस्तै सर्ने रोग भएकाले बिरामीलाई घरमै सुरक्षित र आराम गरेर बस्न आग्रह गरिएको छ ।

    यस्तै टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको छ । बालबालिकामा निमोनियाको समस्या देखिएको छ भने युवा र उमेर बढी भएका मानिसमा टाइफाइडको समस्या पनि उत्तिकै रहेको छ ।

    उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने अवस्था भने नआएको उक्त अस्पतालले जनाएको छ । त्यसैगरी जिल्लाका अन्य मेडिकल क्लिनिकमा पनि यस्ता बिरामीको चाप बढ्दै गएको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij