वेबटिभी खबर
काठमाडौं । साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरूवा रोपण अभियान सुरु भएको छ ।
पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन एक बिरूवा रोपण अभियान सुरु भएको हो ।
अभियानको सुरुआत गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रका खुला क्षेत्रमा धार्मिक प्रजातिका वृक्षरोपणलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
विश्वका वैद्धिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास रहेको बताए । धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
रोपेका बिरूवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई उनले निर्देशन दिए । पशुपति क्षेत्रमा रूद्राक्ष, श्रीखण्ड, वरपीपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाउने योजना कोषको छ ।
कार्यक्रममा खाँदवारी नगर प्रमुख महेश थपलियाले १ लाख रुद्राक्षको बिरूवा उपलब्ध गराउने घोषणा गरेका थिए ।
उक्त अवसरमा मुख्यसचिव शङ्करदास वैरागी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, कोषका सदस्यसचिव डा.मिलनकुमार थापा, महानगरपालिका वडा नं-७ का अध्यक्ष विनोद हाडा, वडा नं-८ का अध्यक्ष आशामान सङ्गत र वडा नं-९ का अध्यक्ष रामजी भण्डारीलगायतले वृक्षरोपण गरेका थिए ।
वृक्षरोपण अभियानका लागि जेबी फाउण्डेशनका अध्यक्ष जगदीश वैद्यले पनि अम्बासहित धार्मिक प्रजातिका ५१ हजार ९०० बिरूवा हस्तान्तरण गरेका थिए । यो अभियानअन्तर्गत साउन महिनाभर पशुपति क्षेत्रमा बिरुवा रोपिने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij