वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन् ।
वीर अस्पतालको १३३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताएका हुन् ।
‘सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?’, उनले भने, ‘वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।’
उनले सरकारी अस्पताल प्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने बताए । उनले अस्पतालले कोभिड-१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने जानकारी दिए ।
उनले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च कदर गर्दै भविष्यमा पनि अझ सशक्त ढंगले स्वास्थ्योपचारलगायतका सेवा पुर्याउनुपर्ने बताए । वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उनले आग्रह गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र सेवामूलक बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तह र प्रदेश तहमा स्वास्थ्य सेवालाई राम्रो बनाएर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भनाइ राखे ।
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा.भूपेन्द्रकुमार बस्नेतले एक वर्षमा ४ लाख ३३ हजार १०८ बिरामीको उपचार गरेको जानकारी दिए । उनले देशभरिका बिरामीलाई गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराएको बताए ।
कोभिड-१९ को महामारीमा अस्पतालले बिरामीको उपचारमा खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै बिरामीलाई गुणस्तरीय र सर्वसुलभ उपचार प्रदान गरेको उनको भनाइ छ ।
१८४३ साउन १२ गते १५ शय्याबाट स्थापना भएको अस्पताल अहिले ४६० शय्याबाट सेवा र ९६० शय्याबाट सेवा प्रवाह गर्ने क्षमता रहेको छ । नेपालमा पहिलो पटक मुटुको सफल शल्यक्रिया, मिर्गौला प्रत्यारोपण र सघन उपचार सेवा (आइसीयू)को वीर अस्पतालबाट सुरु भएको हो ।
१९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको स्थापना भई ड्रेसर, कम्पाउण्डर र नर्सिङ शिक्षाको सुरुआत गरिएको हो । २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नति भई स्वास्थ्य सेवा अस्पतालले प्रदान गरिरहेको छ ।
अहिले ६ वटा भवनमा ४२ आकस्मिक कक्ष, ६८ आइसीयू, ५० हाइडिपिडेन्स युनिट (एचडीयु) र १० सिसीयूकक्षसहित विभिन्न ३२ बहिरंग सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानका रजिष्ट्रार प्रमिला देवानले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij