Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाढीको त्रासले छिटुवा धान

बाढीको त्रासले छिटुवा धान

  • 572
    SHARES
  • बाढीको त्रासले छिटुवा धान

    टीकापुर । अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् ।

    बाढीले धान खेती भित्र्याउन नपाएका किसानले यस वर्ष लगानी खेर नफाल्ने भन्दै छिटुवा धान खेती गरेका हुन् । टीकापुर नगरपालिका-८ की भुन्टी साउँदले १ बिघा जमीनमा छिटुवा धान खेती गरेकी छिन् ।

    भुन्टीको परिवारले गत वर्ष आएको बाढीले पाकेको सबै धान  बगाएपछि उनको परिवारले यस वर्ष खेत रोप्ने आँटै गरेन्र । उनीहरूले भए खाउला नभए खेती गर्ने रकमले अन्न किनौंला भनेर छिटुवा धान खेती गरेको बताइन् ।

    ‘धान खेतीमा गरिएको लगानी पोहोर बाढीमा मिसियो, मेहनत, लगानी सबै पानीमा बगेपछि यस वर्ष खेती गर्ने मन लागेन’, उनले भनिन । ‘खेती गर्न धेरै खर्च लाग्छ, पूरा परिवार खेतमै जोतिनुपर्छ । त्यसैले बीउमात्र भए पुग्ने भएकाले धान छरेका हौं ।’

    धान रोप्नुको सट्टा उनीहरूको उम्रिएको धान पानी नपाएर सुकेर बिग्रियो । लामो समयसम्म वर्षा नभएपछि उम्रेको धान सुकेकाे हाे ।

    ‘असार महिनाभरि पानी परेन, धान सुकेपछि त्यसैमा मास खेती गरेकी छु’,उनले भनिन्, ‘भए खाउला, नभए अब के गर्नु ? खेतीकै भरमा बाँचेका हामी अब यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आउँदैछ ।’

    टीकापुर-८ कै मञ्जु साउँदको परिवारले पनि डेढ विघा जमीनमा धान छरेका छन् । उनीहरूको समस्या पनि यस्तै हो । बाढीको त्रासले मञ्जुको परिवारले पनि यस वर्ष खेती गर्ने हिम्मत गरेन ।

    ‘डेढ बिघा खेतमा धान खेती गर्न लाखौं खर्च हुन्छ, खर्च गरेर उत्पादन भित्र्याउने ग्यारेन्टी छैन’, उनले भनिन्, ‘हामी मात्र होइन हाम्रा अन्य छिमेकीले पनि यस वर्ष खेती गरेनौं ।’

    बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका स्थानीय श्यामलाल चौधरीले बताए । ‘गत वर्ष सयौं किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धान खेती गर्न लगानी नगर्ने सोच बनायौं’, उनले भने ।

    ‘मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु ? बाढीको भर छैन ।’ चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् ।

    टीकापुर-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बाढी, कटान र डुबानको समस्या २०३५ देखिकै समस्या रहेको बताउछन् । ‘बाढी र नदी कटानकै कारण साविक धनसिंहपुर गाविसको ९ नं वडा छैन, १ नं वडामा नदी बगिरहेको छ । जुन अहिलेको ८ नं वडामा पर्छ’, उनले भने ।

    ‘नदी कैलालीतर्फ धार परिवर्तन गरेर बगिरहेकाले हामीले रोक्न सक्ने अवस्था छैन । गत वर्ष कात्तिकमा आएको बाढीले ९५ प्रतिशत किसानको धान खेती बग्यो ।’

    उनले संघर्ष समिति बनाएर नदी नियन्त्रणका लागि दबाब दिने काम गरिरहेको, स्थानीय सरकारले गर्न सक्ने अवस्था नभएको भए पनि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नियन्त्रणको काम गरिरहेको जानकारी दिए ।

    ‘खेती लगाउने, बगेर जाने समस्याले किसान पीडामा रहेका, खेतीप्रति आकर्षित नभएको अवस्था छ । अहिले एक सातादेखि वर्षा भइरहेकाले छिटेको धान पनि डुबेको अवस्था छ’, उनले भने, ‘हामीले आवश्यक बीउ, मलजस्ता कार्यमा सघाउँदै आएका छौं । प्रविधिका लागि सिँचाइ आयोजनाले सघाइरहेको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij