Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तनहुँमा पाँच सय उद्योग थपिए

तनहुँमा पाँच सय उद्योग थपिए

  • 416
    SHARES
  • तनहुँमा पाँच सय उद्योग थपिए

    तनहुँ । तनहुँमा एक वर्षमा ५ सय ७९ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/७९ को अवधिमा ५ सय ७९ उद्योग दर्ता भएका हुन्।

    यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित ३ सय २०, खनिजतर्फ १, पर्यटन १, सेवा १ सय ३ र पूर्वाधार ३ उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए ।

    थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ ५ सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको कार्यालय ढकालले बताए ।

    ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू पशुपालनतर्फ आकर्षित भएका छन्,’ उनले भने, ‘यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।’ कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेती तर्फ आकर्षण बढ्दो छ ।

    तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख ५४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता १ अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ ।

    थपिएका उद्योगबाट १ हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये ५ सय ३४ महिला र ५ सय १ पुरुष रहेका छन् । उद्योगमा ८ सय ९ उद्यमी छन् । उद्योग दर्ता बापत  २४ लाख ३ हजार ४ सय राजश्व संकलन भएको छ ।

    सोही अवधिमा ३ सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ ।

    गत आर्थिक वर्ष ०७८/७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएको थियो । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा ३ हजार ५ सय १५ उद्योग थपिएको थियो । ती उद्योगमा १ अर्ब ८९ करोड ५२ लाख ६० हजार ६ सय ५९ लगानी भएको थियो ।

    १ लाखसम्म पुँजी भएको उद्योगले १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले ३ हजार १ सय, ५ लाखसम्म पुँजी भएको उद्योगले ६ हजार १ सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार १ सय, १ करोडसम्म पुँजी भएको उद्योगले २० हजार १ सय, ५ करोडसम्म पुँजी भएको उद्योगले ३० हजार १ सय र ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले ५० हजार १ सय १० दर्ता बापत शुल्क बुझाउनुपर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij