वेबटिभी खबर
बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा संक्रमण देखिदा शनिबार एकैदिन ३२ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसका साथै साउन महिनाको दुई साताको संक्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा संक्रमण पुष्टि हुँदा दोस्रो साता १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।
भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमदर बढ्दै गएको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ ।
उनले भने, ‘पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।’
सीमा क्षेत्रमा जोखिम बढेकाले यहाँका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरूद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ ।
संक्रमणदर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५८ हजार ७ सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमणकै कारण यस प्रदेशमा ६ सय ३३ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij