वेबटिभी खबर
काठमाडौं । काेभिड-१९ महामारीपछि अष्ट्रेलियामा आईटी क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ । विशेषगरी सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किङ जस्ता क्षेत्रमा दक्ष जनशक्तिकाे माग बढ्न थालेहाे छ ।
अस्ट्रेलियाको नागरिक तथा स्थायी बासिन्दालाई मात्र नभएर अध्ययनका लागि नेपाली विद्यार्थीले पनि यस क्षेत्रमा राम्रो भूमिका र तलब पाउन थालेका छन् ।
सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको रूपमा काम गरेर वार्षिक एक लाख डलरबढी कमाउने नेपालीको संख्या अस्ट्रेलियामा उल्लेख्य छ । नेटवर्किङको क्षेत्रमा पनि ‘हेल्प डेस्क सपोर्ट’मा काम पाउने नेपाली विद्यार्थीहरू संख्या बढ्दै गएकाे छ ।
अस्ट्रेलियामा सफ्टवेयर डेभलोपमेन्टको तालिम दिने संस्था ‘डेन्टेड कोड’ मार्फत भारतीय, फिलिपिन्स, मोरक्को, इन्डोनेसिया साथै नेपालका विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा अस्ट्रेलियाको आईटी उद्योगमा करिअर बनाउन सहयोग गरिरहेका प्रेम आचार्य आईटीको क्षेत्रमा नेपाली विद्यार्थीहरूले पनि राम्रा अवसररू पाउन थालेको बताउँछन् ।
उनले भने, ‘सीप हुनेलाई त अवसर छँदैछ । सीप विकास गर्छु भन्नेले पनि समर्पित भएर लाग्ने हो भने यो क्षेत्रमा राम्रो अवसर छ ।’
उनका अनुसार सबै रोजगारदाता र क्षेत्रमा अनुभवी मात्र खोज्ने भन्ने हुँदैन । बजारमा माग भएका सीप सिक्ने हो भने सीप भएकै आधारमा पनि राम्रा अवसर सजिलै पाउन सकिन्छ ।
आईटीमा करिअर बनाउन सहयोग गर्न जुटे नेपाली
अस्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीलाई कालो पाइन्ट र जुत्ता लिएर आउनु रेस्टुरेन्टका ‘किचन’मा अनि ‘क्लिनिङ’को क्षेत्रमा काम गर्दा काम लाग्छ भन्ने सुझाव दिने परिपाटी बदल्न यतिबेला सिड्नीमा रहेका नेपाली युवाहरू लागिरहेका छन् ।
उनीहरूले अस्ट्रेलियाको आईटीमा उपलब्ध अवसरहरूसम्म नेपाली विद्यार्थीलाई पुर्याउने र त्यस्ता अवसरबाट लाभ उठाउन सहयोग गर्नको लागि ‘आईटी हब’समेत सञ्चालन गरेका छन् ।
अस्ट्रेलियामा सफ्टवेयरको क्षेत्रमा काम गर्ने मात्र होइन । नयाँ विद्यार्थी तथा यो क्षेत्रमा जागिर करिअर खोज्नेहरूलाई सहयोग गर्न ‘आईटी हब’ले करिअर सेमिनार र मिटअप गरिरहेको छ ।
आईटी हबका संयोजक मदनमणि अधिकारीले अस्ट्रेलियाको सफ्टवेयर र आईटी उद्योगको मागअनुसारको सीप भएका नेपालीहरूलाई सीपअनुसारको जागिर दिलाउन आईटी हब संचालनमा ल्याएकाे बताए ।
अधिकारी भन्छन्, ‘अहिले धेरै विद्यार्थीहरूले प्रोग्रामिङ र सफ्टवेयरको क्षेत्रमा राम्रो उपलब्धि हासिल गरिरहेका छन् । सफ्टवेयर इन्जिनियरका रूपमा काम गरेर छोटो र छिटो प्रगति गरेका, जागिरको कारण नै अस्ट्रेलियामा पीआर पाएका धेरैजना मैले नै भेटेको छु। ठूला कम्पनीहरूको आईटी विभाग नै नेपालीले सम्हालेको उदाहरण धेरै छ।’
विश्वभर जसरी भारतीयहरू आईटीको क्षेत्रमा नेतृत्व दिने स्थितिमा छन् । नेपालीहरूले पनि सीप विकास गर्ने हो भने त्यो अवस्था नेपाली समाजको पनि हुनसक्छ भनेर सिड्नीमा नियमित ‘करिअर हब’ले ‘करिअर कार्यशाला’का रूपमा ‘मिटअप’ आयोजना गर्दै आएको उनले बताए ।
अस्ट्रेलियालाई ४२ हजार नयाँ सफ्टवेयर प्रोग्रामर चाहिने
भविष्यमा अस्ट्रेलियामा सफ्टवेयर प्रोग्रामरको माग धेरै हुने यहाँको स्किल कमिसनले जनाएको छ । स्किल कमिसनका अनुसार आगामी चार वर्षमा अस्ट्रेलियालाई ४२ हजारभन्दा बढी सफ्टवेयर प्रोग्रामरको आवश्यकता पर्नेछ ।
अस्ट्रेलियालाई सन् २०२६ सम्ममा थप १२ लाख कामदारको आवश्यकता पर्ने बताइएको छ। स्किल कमिसनले अस्ट्रेलियाको रोजगारी, पेसा तथा विभिन्न उद्योगहरूको कामदार र सीप आवश्यकताको अध्ययन गरेर वर्तमान र भविष्यका सीप आवश्यकतासम्बन्धी सुझाव दिने गर्दछ ।
२०२१ नोभेम्बरमा अस्ट्रेलियामा एक लाख ५६ हजार दुई सय सफ्टवेयर इन्जिनियर तथा डेभलोपर प्रोग्रामर थिए । २०२६ नोभेम्बरमा त्यो संख्या एक लाख ९८ हजार चार सय हुने अनुमान छ। सफ्टवेयर इन्जिनियर तथा डेभेलोपर प्रोग्रामरका लागि रोजगारीको अवसरमा २७ प्रतिशले वृद्धि हुने देखिन्छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij