वेबटिभी खबर
भोजपुर । धार्मिक तथा पर्यटकीय महत्त्वको भोजपुरको सबैभन्दा अग्लो साल्पा सिलिचुङ चुचुरोसँगै साल्पा पोखरी प्रचार–प्रसारको कमीले ओझेलमा परेको छ । समुन्द्री सतहबाट ४ हजार १५३ मिटर उचाइमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथासँगै अन्य हिमालहरू प्रष्ट देख्न सकिन्छ ।
चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजाका लागि पुग्ने गरेका छन् । वर्षमा चारपटक मेलासमेत लाग्ने गरेको छ । वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयवासीको को भनाइ छ ।
भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत ठाउँबाट भक्तजनहरू पुग्ने गरेका छन् । टेम्के डाँडा, मैयुङ डाँडामध्ये सिलिचुङ डाँडा सबैभन्दा अग्लो डाँडाकारूपमा स्थापित छ । टेम्के डाँडाको उचाइ समुन्द्री सतहबाट ३ हजार १६५ मिटर उचाइमा छ । त्यस्तै मैयुङ डाँडाको उचाइ ३ हजार ३३३ र साल्पासिलिचुङ डाँडाको उचाइ ४ हजार १५५ मिटर छ ।
यो स्थानलाई सबै धामीझाँक्रीले गुरु मान्ने गरेका छन् । खास गरेर स्थानीयवासी मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ त्यहाँ पुग्छन् । bखास गरेर बोली नफुटने, बोल्न नसक्ने र सन्तान नहुनेलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रहेको स्थानीयवासी पवन खत्रीले जानकारी दिए । यो सिलिचुङ डाँडाबाट नेपालको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट नियाँल्न सकिने उनको भनाइ छ ।
स्थानीयवासी खत्रीले भने, ‘यहाँ दर्शन गरेमा सन्तान नहुनेको सन्तान प्राप्ति हुने धार्मिक विश्वासले धेरै मानिस आउने गरेका छन् । सिलिचुङ डाँडा र साल्पा पोखरी हाम्रो जिल्लाको पहिचान हो । यो ठाउँ धार्मिक तथा पर्यटकीय क्षेत्र हो । साल्पा पोखरीमा गएर दर्शन गरे मनोकामना पूरा हुने, चिताएको पुग्ने जनविश्वास छ । सिलिचुङ डाँडाबाट सगरमाथासँगै तराईका सुन्दर फाँट र अन्य हिमाल अवलोकन गर्न सकिन्छ ।’
साल्पा पोखरी कचौरा आकारमा फैलिएको छ । स्थानीयवासीका अनुसार समय समयमा यस पोखरीको रंगसमेत फेरिने गर्दछ । यो ठाउँलाई किराँत राईहरूले सबैभन्दा अग्लो स्थानमा रहेको पुखेउली भगवान् भनेर मान्ने गरेका छन् । उनीहरूले हरेक दुःख सुखमा साथ दिने आस्थाको प्रतीककारूपमा लिने गरेका छन् ।
साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले यहाँको विकासमा जोड दिने गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले बताए । गाउँपालिकाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रकारूपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले जानकारी दिए ।
अध्यक्ष कुलुङले भने, ‘यो हाम्रो गाउँपालिकाको साथै जिल्लाकै महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यसलाई बृहत्तररूपमा विकास गर्ने उद्देश्यले काम गरिरहेका छौं । यसको छुटै विशेषता र पहिचान छ । गाउँपालिकाको क्षमताले मात्र सबै काम गर्न सम्भव छैन । त्यसका लागि केन्द्र र प्रदेश सरकारसँग पनि समन्वय गरेर आगामी दिनमा थप काम गर्छौं ।’
गाउँपालिकाले अहिले पोखरीको थप संरक्षणसँगै तीर्थ यात्री तथा पर्यटकहरूलाई लक्षित गरेर पाटीपौवा, शौचालय, विश्राम स्थल तथा खानेपानी व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए । यो क्षेत्रमा रेडपाण्डा लगायतका धेरै प्रकारका जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटी पाइने भएकाले संरक्षित क्षेत्रकोरूपमा समेत विकास गर्ने अध्यक्ष राईको भनाइ छ ।
‘यो क्षेत्र प्राकृतिक हिसाबले पनि निकै महत्त्व बोकेको ठाउँ हो । यहाँ नेपालमै दुर्लभ रेडपाण्डा पाइन्छ । यहाँका वन क्षेत्रमा धेरै बहुमूल्य जडीबुटी पाउन सकिन्छ । यसलाई संरक्षित क्षेत्र घोषणा गरेर धार्मिक तथा पर्यटकीय क्षेत्रकारूपमा विकास गर्ने गाउँपालिकाको योजना छ । हाँडी पोखरी, निकास भनिने भोजपुर-खोटाङ सिमानाको भञ्ज्याङ, जौबारी, च्याक्सिला वाक्सिन्दा, चिलिमधापलगायत क्षेत्रलाई समेटेर संरक्षित क्षेत्रकारूपमा विकास गर्ने गरिने छ,’ उनले भने ।
नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ । मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै साल्पासिलिछो गाउँपालिकाले पनि पदमार्ग निर्माण गरेर अरुण उपत्यका हुँदै कञ्चनजंगासम्म करिब ६० किलोमिटर मार्ग निर्माण गर्ने लक्ष्य लिएको उक्त गाउँपालिकाले जनाएको छ ।
यो पदमार्गको नाम ‘सोप्तुङ ट्रेल’ राखिएको छ । यो ट्रेललाई दोभानेको जौवारी आहाले, खाटम्माको साकेचुङ ढुंगा, चौकी डाँडाको डेली ढुंगा हर्कटे शाल्पा, कुलुङ गोरुकाटे डाँडा, काम्लेटार, बुम्लिङटार योगमाया तपोभूमि गौंडेनी अरुण उपत्यका हुँदै मकालु कञ्चनजंगासम्म विस्तार गरिने अध्यक्ष कुलुङले जानकारी दिए ।
उनले भने, ‘यो ठाउँसम्ममा मुन्दुम ट्रेलले छोएको छ । मुन्दुम पदमार्गले छोएको ठाउँबाट पर्यटकलाई सहज आवागमनका लागि गाउँपालिकाले पनि सोप्तुङ ट्रेल निर्माण गर्ने लक्ष्य लिएको छ । यो ट्रेललाई मकालु, कञ्चनजंगासम्म जोड्ने हाम्रो योजना छ । यो ट्रेलले पूर्णता पाएपछि पर्यटकहरूलाई सहजरूपमा भ्रमण गर्ने अवसर मिल्ने छ ।’
यो क्षेत्रलाई विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर गाउँपालिकाको आर्थिक स्रोतमा वृद्धि गर्न सकिने त्यस क्षेत्रका जानकार स्थानीयवासी चन्द्र खत्रीले बताए । यसको विकास र प्रचार–प्रसार गर्न सके ताप्लेजुङको पाथीभरा जस्तै प्रख्यात हुने उनले बताए ।
चिताएको पूरा हुने विश्वासले मानिसहरु चारदेखि पाँच दिनसम्म लगाएर दर्शनका लागि आउने गरेका छन् । तेन्जिङ हिलारी त्यहींबाट भएर सगरमाथा आरोहणका लागि गएका थिए ।
स्थानीयवासी खत्रीले भने,‘यो क्षेत्रको धेरै ठूलो महत्त्व छ । यसलाई प्रचारप्रसार गरेर उचित ढंगले विकास गर्ने हो भने नेपालको उत्कृष्ट गन्तव्य सूचीमध्ये पहिलो रोजाइमा पर्न सक्छ । यहाँ धार्मिक महत्त्वलाई उजागर गर्दै पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न सके पाथीभरा जस्तै मानिसको आस्थाको केन्द्रकारूपमा स्थापित गर्न सकिन्छ । यहाँको सम्भावनाको विषयमा स्थानीय सरकारसँगै प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिन आवश्यक छ ।’
तीन जिल्लाको संगमस्थलमा रहेको भए पनि यो क्षेत्र भोजपुरमा पर्ने १ हजार १० मिटर पर कुलुपङ्खुमा खोटाङ, सिचुङ चुचुरोबाट पश्चिम ५ सय पर मिटरमा सोलुखुम्बु र उत्तरपट्टि करिब सय मिटर पर सङ्खुवासभाको भूभाग पर्छ । यहाँ महोत्सव आयोजना गरेर २०६८ मा यस क्षेत्रलाई समेटिएको हुलाक टिकटसमेत प्रकाशित गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij