वेबटिभी खबर
काठमाडौं । सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पतालमा सर्वसाधारणले पनि सेवा पाउने भएका छन् ।
सोमबार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका-३ स्थित नेपाल सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको उद्घाटन गर्दै अस्पतालले सर्वसाधारणलाई पनि सुविधा प्रदान गर्ने बताएका हुन् ।
नेपाल प्रहरी स्कुलको हाताभित्रको भवन उद्घाटन गरे लगत्तै प्रहरी महानिरीक्षक सिंहले सो अवसरमा वृक्षारोपणसमेत गरेका थिए । प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिनेलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिए ।
सो अस्पतालले प्रदेशअन्तर्गत विभिन्न जिल्लाका प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि काठमाडौं उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारिता ल्याउन मद्दत पुग्ने विश्वास सिंहले व्यक्त गरे ।
सो क्रममा अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशनसमेत प्रहरी महानिरीक्षक सिंहले दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij