वेबटिभी खबर
झापा । राज्यले महिलालाई जग्गा खरिद बिक्रीमा २५ प्रतिशत राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएकाे छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अध्ययन गर्दा यस्तो देखिएको हो ।
एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा ५१ करोड ४२ लाख १ हजार ५१३ राजश्व छुट दिइएको छ । अघिल्लो आवमा ७ हजार ६१ वटा लिखद पास गर्ने महिलालाई ३९ करोड २१ लाख ८ हजार ४२६ राजस्व छुट दिइएको थियो ।
अघिल्लो वर्षका तुलनामा गत वर्ष राजस्व छुट बढेको छ । कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरूलाई १० लाख २२ हजार १७७, सहिद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखद पास गर्ने पाँचलाई २३ हजार ४४२ राजस्व दिइएको छ ।
परिचयपत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजस्वमा छुट दिने गरेको भण्डारीकाे भनाइ छ । यस कार्यालयबाट झापाको माईपूर्वका १० वटा स्थानीय तहको जग्गा किनबेचको पास हुने गरेको छ ।
कार्यालयले गत आव २०७८/७९ मा ८३ करोड २८ लाख ९ हजार ८३१ राजस्व संकलन गरेको छ । कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २३५, अग्रीम कर १० करोड ८४ लाख ४ हजार ७८, डोर शीर्षक वापत ४ लाख २५ हजार राजस्व उठाएको हो ।
कार्यालयले एक वर्षको अवधिमा ५१ हजार १९६ लिखद दर्ताबाट उक्त संख्या बराबरको राजश्व संकलन गरेको हो ।
मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, हल्दीवारी, बाह्रदशी, झापा, अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहका जग्गाको किनबेचलगायत सम्पूर्ण कारोबार गर्ने यस कार्यालयले सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट २० करोड ४५ लाख ५९ हजार ४९५ र सबै भन्दा कम झापा गाँउपालिकाबाट ७३ लाख ३३ हजार ७३४ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij