वेबटिभी खबर
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताए । सर्लाहीको ईश्वरपुर नगरपालिका-४ मा निर्मित सशस्त्र वनरक्षक व्यारेक भवनको आज उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताए ।
उनले भने, ‘हरियो वन नेपालको धन हो । आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन । वन माफियालाई कानुनी दायरामा ल्याउने छु ।’
यसैगरी मन्त्री यादवले सुकुम्बासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्रै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उनले मन्त्रालयको निर्देशनबमोजिम वन-जङ्गलको संरक्षणका लागि काम गर्न वन रक्षकलगायत सबै कर्मचारीलाई निर्देशनसमेत दिए ।
वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती गर्नुपर्नेमा जोड दिनुहुँदै उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहनासमेत गरे ।
त्यसैगरी सर्लाही क्षेत्रमा भइरहेको वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह, तप्का तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij