वेबटिभी खबर
काठमाडौं । एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रूपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रूपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रूपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रूपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो ।
नेपालमा भारत, भियतनाम, अष्ट्रेलिया, चीन, हङकङ, जापान, मोजाम्बिक, नाइजेरिया, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आउने गरेको छ । यस्तै भारत, अमेरिका र अफगानिस्तानबाट बदाम आउने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ८ करोड ४७ लाख ९३ हजार रूपैयाँको काजु र बदाम आयात गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij