वेबटिभी खबर
बैतडी । बैतडीमा २ हजार ८ सय ८ जना नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय १ हजार ८ सय २९, जिल्ला निर्वाचन कार्यालय दुई सय ९० र इलाका प्रशासन कार्यालय हाटमा ६ सय ८९ नयाँ मतदाता थपिएका हुन् ।
यसका साथै आठ बाहिरका मतदाताले पनि नाम दर्ता गराएका छन् । योसँगै जिल्लामा मतदाताको संख्या १ लाख ५१ हजार ४ सय १४ पुगेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका थिए ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्ने छन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरेसँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए ।
सरकारले मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij