वेबटिभी खबर
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अदानोम गेब्रेयससले कोभिड-१९ संक्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती (आइपी) अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।
डब्लुएचओ प्रमुख गेब्रेयससले यदि धेरै व्यक्तिलाई खोप लगाई सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने अहिले उपलब्धभन्दा धेरै बढी खोप चाहिने बताए ।
त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले पनि अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनको लागि बौद्धिक सम्पतीको अधिकार अस्थायी रूपमा निलम्बन अत्यावश्यक भइसकेको बताएका छन् ।
गत हप्ता विश्व व्यापार संगठनले आइपी अधिकार माफीको बारेमा छलफल चलाएको थियो तर जेनेभामा यस सम्बन्धी अहिलेसम्म कुनै समाचार प्राप्त भइसकेको छैन ।
बेलायतले सन् २०२१ मा जी-७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ । आगामी जुन महिनामा बेलायतले जी-७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ ।
टेड्रोस र ब्राउन दुवैले जी-७ सम्मेलनले आइपी अधिकारको अस्थायी माफीलाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
जी-७ देशहरू विश्वका आर्थिक र राजनीतिकरूपमा शक्तिशाली मानिन्छन् । उनीहरू विश्वका धेरै खोप उत्पादन गर्ने मुलुकहरू पनि हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij