वेबटिभी खबर
दमक । हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्णरूपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नगरिकहरूको बाध्यता अझै हटेको छैन् ।
पुल समयमा नबन्दा वर्षामा आवातजावात ठप्प हुने र हिउँदमा पनि डुंगाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगङ्जकी टीकामाया लिम्बुले बताइन् ।
२०६८ सालमा ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ ।
तर पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन् । वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको हो । वर्षातमा सधैं काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन नसकेको हो ।
यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा इश्वर माझीले बताए । पुल नबन्दा त्यहाँ वर्षौदेखि नदि तर्न डुंगाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन ।
झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमा मै समस्या हुँदै आएको गौरीगञ्ज वडा नं-१ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताए ।
दोस्रो विरिङ पुल भने आगामी वर्ष काम सकिने निर्माण कम्पन्नी लामा मैनाचुलीका इञ्जिनीयर राघव यादवले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij