वेबटिभी खबर
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाए । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि उनी गाउँ फर्किएर पशुपालनमा लागेका छन् ।
किसानसमेत राजनीतिमार्फत समाज रूपान्तरणको अभियानमा लाग्न सक्छन् भन्ने सन्देश पुर्जाले दिएका छन् । दोवावेशी बाख्रापालन फार्म स्थापना गरेका पुर्जा निवर्तमान वडा सदस्य हुन् ।
अहिले अधिकांश समय बाख्रापालनमै खर्चिन थालेका पुर्जाले समय व्यवस्थापन गरेर पार्टी संगठनको कामलाई अघि बढाउने गरेको बताए । दुई वटा पैँचो बाख्रा लिएर बाख्रापालन सुरु गरेका उनको फार्ममा अहिले ६० वटाको हाराहारीमा बाख्रा छन् ।
एक वर्षमा बाख्राको संख्या सय पुर्याउने उनको योजना रहेको छ । वर्षमा एक लाखको खसीबोका बिक्री भएको बताउँदै पुर्जाले फार्मबाट उत्पादन भएका बोका र बाख्राको लागि बजारको अभाव नभएको र माग पुर्याउन नसकेको जानकारी दिए ।
दोवालाई बाख्रापालनको पकेटक्षेत्र समेत घोषणा गरिएको छ । पुर्जाको हजुरबुबाले परम्परागतरूपमा भेडापालन गर्दै आएका थिए । फार्ममा एक जनालाई नियमित रोजगारीसमेत दिएका छन् ।
फार्ममा स्थानीय र उन्नत जातका बाख्रा पालन हुने गरेको छ । पुर्जाको फार्ममा तीन वटा भैंसी पनि छन् । उनले बेँशी नजिकैको सुनारीमा वार्षिक २० हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर बङ्गुर र माछापालनसमेत गर्ने तयारी गरेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij