वेबटिभी खबर
काठमाडौं । अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजस्व संकलन गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा अछामका १० स्थानीय तहले वार्षिक ५ करोड ८४ लाख ११ हजार रूपैयाँ राजस्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ ।
१० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकाले राजस्व संकलन गरेका छन् ।
साँफेबगर नगरपालिकालिकाले आर्थिक वर्ष २०७७/७८ मा १ करोड ६५ लाख ८ हजार र तुर्माखाँद गाउँपालिकाले २० लाख ५४ हजार रूपैयाँ राजस्व संकलन गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
साँफेबगर नगरपालिकाले तुर्माखाँद गाउँपालिकाभन्दा १ करोड ४४ लाख ६३ हजारबढी राजस्व संकलन गरेको छ । साँफेबगर नगरपालिकाले केही स्थानीय तहबाहेक अन्य पालिकाभन्दा चार गुणाबढी राजस्व संकलन गरेको छ ।
यस्तै चौरपाटी गाउँपालिकाले ९४ लाख ८६ हजार रूपैयाँ, मंगलसैन नगरपालिकाले ७७ लाख ९७ हजार, पञ्चदेवल बिनायक नगरपालिकाले ४५ लाख ४४ हजार र ढकारी गाउँपालिकाले ४४ लाख ३० हजार रूपैयाँ राजस्व संकलन गरेका छन् ।
कमलबजार नगरपालिका ४२ लाख १६ हजार, मेल्लेख गाउँपालिकाले ३४ लाख २१ हजार, बान्नीगढी जगयढ गाउँपालिकाले ३० लाख ६१ हजार र रामारोशन गाउँपालिकाले २९ लाख ३ हजार रूयैयाँ राजस्व संकलन गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकीकृत सम्पत्ति र घरजग्गा वहाल कर, व्यवसायी कर, सिफारिस दस्तुर, व्यक्तिगत घट्ना दर्ता, अन्य प्रशासनिक शुल्कबाट राजस्व संकलन गर्न व्यवस्था रहेको छ । केही स्थानीय तहले नदीजन्य पदार्थ र स्काभेटरको प्रयोगबाट पनि राजस्वस संकलन गर्दै आएका छन् ।
स्थानीय तहले संकलन गरेको राजस्व विकास निर्माणका कार्यमा खर्च नभई सेवा सुविधा र प्रशासनिकमा बढी खर्च गर्ने गरेको पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको अधिकतम विकास निर्माण कार्यमा खर्च गर्नको लागि सुझाव पनि दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij