Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

डाडाखेत-राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

डाडाखेत-राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

  • 347
    SHARES
  • डाडाखेत-राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

    म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए ।

    ‘७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,’ उनले भने, ‘थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नाप जाँचको काम पनि सुरु भएको छ ।’

    १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ ।

    रघुगंगा गाउँपालिका-३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिका-१, मालिकाको वडा नं-६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ ।

    डाडाँखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए । उनका अनुसार डाडाँखेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ ।

    राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भइरहेको छ ।

    सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । अहिले डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ ।

    आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सवस्टेशन बनाउन लागिएको हो ।

    डाडाँखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए ।

    एशियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२।८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।

    संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।

    सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धक सक्रिय भएका छन् । गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण थालेको छ ।

    धवलागिरि गाउँपालिका-४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ ।

    धवलागिरि गाउँपालिका-४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ ।

    अप्पर हाइड्रोपावर प्रालि काठमाडौंलले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्‍याउने काम भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij