वेबटिभी खबर
काठमाडौं । थारू कला, संस्कृति प्रवर्द्धनका लागि आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारू २०२२’ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् ।
सात जिल्लाका प्रमुख शहरहरूमा सकिएको अडिसनबाट पुरूष र महिला गरि २५ जना छनोट भएका हुन् । गत २१ साउनमा ४ र मंगलबार थप ३ जिल्लामा अडिसन सम्पन्न भएको छ ।
मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो । विराटनगर अडिसनबाट २ पुरूष र १ महिला गरि तीनजना छनोट भएका छन् । छनोट हुनेमा प्रविनकुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी छन् ।
यस्तै लहान अडिसनबाट पनि तीनजना छनोट भएका छन् । छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी रहेका छन् । टीकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमंग चौधरी र बिना धमलवाहा थारू छनोट भएका छन् ।
गत शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी भएकाेमा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन् ।
वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रूपा चौधरी र स्मृति चौधरी थारू छनोट भएका छन् ।
नेपालगञ्ज अडिसनमा आशिष थारू, निशान थारू, अशोक थारू, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन २८ साउनमा काठमाडौं, बुटवल र दाङमा हुनेछ । यस अडिसनपश्चात छनोट भएकालाई काठमाडौंमै राखेर प्रशिक्षण दिइने प्रतियोगिता निर्देशक रूपेश चौधरीले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । प्रतियोगिता सन् २०१७ देखि सुरूवात भएको थियो ।
पहिलो संस्करणको मिस्टर थारू चन्दन चौधरी भएका थिए भने मिस थारू जेनिशा चौधरी भएकी थिइन् । २०१८ को मिस्टर थारू रविन चौधरी र मिस थारू आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारू प्रशान्त हुजदार हुँदा मिस थारू लिभा थारू भएकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij