वेबटिभी खबर
काठमाडौं । कोरोना महामारीको समयमा अनियन्त्रित मधुमेह, मृर्गौला, उच्च रक्तचाप र मोटोपनासँग संघर्ष गरिरहेका व्यक्तिहरू विशेष रूपमा सतर्क हुनु आवश्यक देखिएको छ । एकभन्दा बढी दीर्घ रोग भएका व्यक्तिहरु कोरोना संक्रमित भएपछि उनीहरुमा अर्को नयाँ घातक समस्या देखिएको छ ।
भारतको अहमदाबादमा कोरोना संक्रमण भएर निको भइसकेका दीर्घ रोगीमध्ये अहिलेसम्म ६० जना व्यक्तिहरुमा म्युकोरमाइकोसिस (फंगल इन्फेक्सन) जस्तो घातक रोग देखिएको छ । यसमध्ये नौ जनाको मृत्यु भएको छ भने तीन जना दृष्टिविहिन भएका छन् । फंगल इन्फेक्सन भएका ३० भन्दा धेरै बिरामी त्यहाँको सिभिल अस्पतालमा भर्ना भएका छन् ।
सिभिल अस्पतालले दिएको जानकारी अनुसार धेरै दीर्घरोग भएका व्यक्तिका लागि कोरोना ठूलो प्रकोप बनिरहेको छ ।
दीर्घ रोग भएका कोरोना संक्रमितहरुमा रगत जम्ने, शरीरमा चिनीको मात्रा अत्याधिक बढ्नुका साथै नाक, कानमा फंगल संक्रमण भएको छ । जसका कारण अनुहार सुन्निन थाल्छ ।
फंगल इन्फेक्सनको सबैभन्दा धेरै असर आँखा पर्छ, समयमै उपचार नभए पूर्णरुपमा आँखा नदेख्ने पनि हुन सक्छ । अहमदाबादको सिभिल अस्पतालमा फंगल संक्रमण भएर दैनिक ३/४ जना व्यक्ति भर्ना भइरहेका छन् ।
अस्पतालका चिकित्सक बेलाबेन प्रजापतिका अनुसार फंगल संक्रमण हुने व्यक्तिमा सुरुमा रुघाखोकीको लक्षण देखिन्छ । समयमै उपचार नगरे शरीरमा इन्फेक्सन फैलिँदै नाक, आँखासम्म पुगेर पुरै अनुहार सुनिन थाल्छ ।
विशेषगरी मधुमेहका बिरामीमा कोभिडका कारण फंगल इन्फेक्सन हुन्छ । सामान्यतया यो नाकबाट सुरु भएर आँखा, नाकको हड्डी र बंगारालाई असर गर्छ ।
यस्ता बिरामीले नाक सुन्निने, अत्याधिक दुख्ने, आँखा धमिलो हुँदै जाने लक्षण देखिए तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्छ । इन्फेक्सन बढ्दै जाँदा आँखा वरिपरि पक्षघात हुने र मष्तिस्कमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।
भारतका धेरै राज्यमा कोभिड संक्रमितमा ढुसीजन्य रोग म्युकोरमाइकोसिस भएको पुष्टि भइसकेको छ । नाकसम्बन्धी समस्या हुने व्यक्तिलाई यसले गम्भीर असर नपार्ने भए पनि कोभिड संक्रमितका लागि घातक देखिएको छ । पहिलेदेखि मधुमेह भएका कोरोना संक्रमितमा प्रतिरक्षा प्रणाली कमजोर हुँदा फंगल इन्फेक्सनले ज्यानै जाने खतरा हुन्छ । यस्तो अवस्थामा मधुमेह पूर्णरुपमा नियन्त्रण गर्न जरुरी हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij