Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

  • 502
    SHARES
  • राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लागेका छन् ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् ।

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले राजनीतिक दलले आ-आफ्नाे बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लागेको प्रतिक्रिया दिइन् ।

    उनले भनिन्, ‘निर्वाचन केन्द्रित बैठक र भेला सुरु भएका छन्, अब उम्मेदवार सिफारिसको क्रम चलेसँगै थप चुनावी माहोल बन्नेछ, केही समयमै चुनावी जागरण अभियान चल्छ।’

    नेपालीको यस वर्षका मुख्य चाड दसैं, तिहार र छठमा हुने साथीभाइ तथा आफन्तजनबीचको भेटघाटले थप चुनावी रौनक प्रदान गरी चहलपहल र प्रचारप्रसारले तीव्रता पाउनेछ ।

    नेकपा (एमाले)का केन्द्रीय सदस्य गणेशकुमार पहाडीले मुलुकका सबै राजनीतिक दलका गतिविधि पूरै निर्वाचन केन्द्रित भएको प्रतिक्रिया दिए ।

    उनले भने, ‘पार्टीले सञ्चालन गर्ने शुद्धीकरण र सुदृढीकरण अभियानलाई निर्वाचन अभियानकारूपमा जोडेर लगेको छ, बैठक, भेला र प्रशिक्षण चुनाव केन्द्रित गरिएको छ, एमालेले घोषणापत्र निर्माण समिति र निर्वाचन परिचालन मूल कमिटी पनि घोषणा गरिसकेको छ।’

    आगामी निर्वाचनलाई केन्द्रित गरी मुलुकका प्रमुख राजनीतिक शक्तिबीच गठबन्धन र चुनावी तालमेलका विषयमा दिनहुँजसो वार्ता तथा संवाद चलिरहेको छ भने जिल्ला तहमा सम्भावित उम्मेदवारको छनोटका लागि चर्चा परिचर्चा सुरु भइसकेको छ ।

    नेकपा (माओवादी केन्द्र)की नेत्री जयपुरी घर्तीले पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीका बैठक बसिरहेकाले उनीहरूले गर्ने निर्णयपछि स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रम सञ्चालन हुने बताइन् ।

    उनले भनिन्, ‘केही समयपछि प्रशिक्षण सुरु हुन्छ, त्यो जनतासमक्ष पुग्ने योजना छ, अब सबै गतिविधि निर्वाचन केन्द्रित हुन्छ ।’

    अर्कोतर्फ निर्वाचन आयोगले पनि ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन अर्जुनदृष्टिका साथ मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    निर्वाचन कार्य तालिकामा मिति घोषणादेखि निर्वाचन अवधि प्रारम्भ, बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषय वस्तु समेटिएको छ ।

    उनले भने, ‘अबको आयोगको अन्तिम गन्तव्य वा अर्जुनदृष्टि भनेको आगामी मंसिर ४ गतेको निर्वाचन नै हो, निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने र मिल्ने तयारी गरिसकेको छ ।’

    सरकारले यही साउन १९ गते आगामी निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन तयारीका लागि आयोगसँग १ सय सात दिन उपलब्ध छ । आयोगले अहिले खासगरी निर्वाचनसम्बन्धी विभिन्न कार्यविधिलाई अन्तिमरूप दिने र निर्वाचन सामग्री व्यवस्थापन तयारीलाई उच्च प्राथमिकता दिएको छ ।

    आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दललाई दल दर्ताका लागि आयोगले यही साउन ३१ गतेसम्मको समय प्रदान गरेकोमा शनिबारसम्ममा ४० दलले दर्ताका लागि निवेदन दिइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij