वेबटिभी खबर
लहान । लहान नगरपालिका-५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाइएको घर टहरा हटाउने क्रममा झडप हुँदा पाँचजना घाइते भएका छन् ।नगरप्रहरी र स्थानीयवासीबीच बुधबार झडप भएको हो । झडपमा परी नगरप्रहरी मनोज यादव, रामदयाल महतो, रामभरोसी यादव, सरसफाईकर्मी बब्लु मेहतर र अनिता मेहतर घाईते भएको नगरपालिकाले जनाएको छ ।
अतिक्रमण गरी बनाईएको घर टहरा हटाउन लिखित र मौखिक रुपमा पटक-पटक सूचना दिए पनि अटेरी गरी नहटाएकाले डोजर लगाएर खाली गराईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालले जानकारी दिए ।
लहान नगरपालिका-९ खुट्टी खोला पूर्व लहान गोठ टोल जाने पिच सडकबाट पश्चिमतर्फ बैलहाट सडकबाट पश्चिम खुट्टी खोलाको जग्गामा व्यवस्थित हाटबजार लगाउने योजना रहेकाले अतिक्रमण गरी बनाईएका घर टहरा हटाईएको प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij