वेबटिभी खबर
दाङ । राप्ती प्रादेशिक अस्पतालबाट आर्थिक २०७८/८९ मा २ हजार ९ सय २७ जनाले प्रसूति सेवा लिएको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिए ।
२४ जनाले जटिल र ७३ जनाले शल्यक्रिया गरेर प्रसूति सेवा लिएका थिए । सो अवधिमा २३ गर्भवतीलाई बाहिर पठाइएको थियो । विशेषगरी गर्भवती महिलामा जटिल समस्या भएमा अस्पतालमा सघन कक्ष र नवजात शिशु कक्ष व्यवस्थाको नभएकाले अन्य अस्पतालमा रिफर गरिएको उनले बताए ।
एक वर्षको अवधिमा दुई हजार ७०० गर्भवतीले नियमितरूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गराएका थिए ।
अस्पतालमा आएर प्रसूति सेवा लिएमा यातायातबापत एक हजार र नियमितरूपमा चारपटक गर्भजाँच गराएमा ८०० प्रोत्सानस्वरुप भत्ता दिइने गरेको अस्पतालका निमित्त मेसु तथा स्त्रीरोग विशेषज्ञ डा.विनोद सिंहले जानकारी दिए ।
उनले त्यस अवधिमा प्रसूति सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको कमी भए पनि व्यवस्थापन गरी सेवा प्रवाह गरेको बताए । प्रसूति सेवा लिन आउनेमध्ये केही १८ वर्षका पनि रहेको र यसरी सानै उमेर आमा बन्ने महिलालाई बच्चा जन्माउदा समस्या हुने र शल्यक्रिया गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
उनकाअनुसार पाठेघर खस्ने समस्या पनि बढी हुने भएकाले उमेर पुगेर मात्र बच्चा जन्माउनुपर्ने बताए ।
२०६५ मा जनस्तरबाट स्थापना गरिएको उक्त अस्पतालका लागि यहाँका नागरिकले निकै लामो संघर्ष गर्नाका साथै महायज्ञ आयोजना गरी ३ करोडभन्दा बढी रकम संकलन गरेर अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले तत्कालीन तुलसीपुर हेल्थपोष्टलाई स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पतालकारूपमा विकास गरेको थियो ।
तुलसीपुर क्षेत्रमा रहेको यो एक मात्र सरकारी अस्पताललाई दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रदेशको मातहतमा ल्याएर राप्ती प्रादेशिक अस्पतालकारूपमा विकास गरेको हो ।
प्रादेशिक अस्प्तालकारूपमा विस्तार गरेसँगै त्यहाँ भौतिक पूर्वाधार निर्माण तथा स्वास्थ्य उपकरण बढी छन् तर चिकित्सक तथा कर्मचारीको संख्या कम भएकाले दरबन्दी थप गर्नुपर्ने आवश्कता रहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।
उक्त अस्पतालमा दाङ र रोल्पा जिल्लाको पश्चिम भाग, पूर्वी रुकुम र कर्णाली प्रदेशको सल्यान जिल्लाका नागरिक सेवा लिन आउने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij