वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) डा.बाबुराम भट्टराईले सबैबाट सहयोगको अपेक्षा गरेका छन् ।
नेसपा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लड्ने सहमति भएपछि डा.भट्टराईले सबैबाट सहयोगको अपेक्षा गरेका हुन् ।
माओवादी केन्द्र र नेसपाबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति मंगलबार भएपछि बाबुरामले भने, ‘सबैबाट सहयोगको अपेक्षा ।’ माओवादी केन्द्रसँगको सहमति तत्कालका लागि भएको बताउँदै उनले बृहत् अग्रगामी राजनीतिक शक्तिहरूको ध्रुवीकरण गर्ने लक्ष्य भएको सुनाए ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा पत्रकारहरूसँग बोल्दै डा.भट्टराईले भने, ‘तत्काल त चुनावी प्रयोजनका निम्ति मात्रै हो । तर हाम्रो लक्ष्य नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेन्डा बाँकी छन्, त्यसलाई पूरा गर्न हामी सबैले एक्लाएक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकताबद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो । त्यो दिशातिर हामी जान्छौं ।’
नेसपा पनि गठबन्धनभित्रै भएकोले गठबन्धनले बनाउने मापदण्डअनुसार नै तालमेल गरेर अगाडि बढ्ने डा.भट्टराईकाे भनाइ छ ।
डा.भट्टराई लामो समयको अन्तरालपछि पेरिसडाँडा पुगेका थिए । डा.भट्टराईको साथमा अर्का अध्यक्ष महिन्द्रराय यादव र प्रचण्डको साथमा नेता नारायणकाजी श्रेष्ठ पनि थिए । भेटपछि चार जनाले सामूहिक तस्बिर खिचाए । तस्बिरमा श्रेष्ठलाई बाबुरामले साइडमा राखे भने यादवलाई प्रचण्डले ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij