वेबटिभी खबर
काठमाडौं । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ ।
काम सुरु भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको हो ।
धुलोले यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका वडा नं-१ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हालछन् ।
सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले बताए । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ । आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी २०७२ मा ठेक्का भएको सात किमी सडक सात वर्षदेखि अलपत्र अवस्थामा छ ।
सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो ।
यो सडकको मापदण्ड २०४५ मा काठमाडौँ उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो ।
सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर बिस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ ।
यो सहमतिअनुसार पनि ठाउँ-ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने सहमति गरेको तीन वर्षसम्म पनि सडक अलपत्र छ ।
आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको दुई वर्षमा पनि काम सकिएन । आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो ।
त्यो अवधिमा पनि काम सकिएन । ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।
संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं-८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुंगानाको भनाइ छ ।
पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् । कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन । हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ ।
अन्य स्थानमा पनि केही काम बाँकी छ । हाल तीन महिनादेखि काम रोकिएको स्थानीयवासीको गुनासो छ । वर्षा रोकिए पनि सडकको काम सुरु भएको छैन । वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ ।
सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडकछेउका धेरै स्थानीयवासी पीडित छन् । स्थानीय स्वास्थ्यकर्मी डा.रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताए ।
धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको संख्या बढ्न थालेको उनको भनाइ छ । पछिल्लो समयमा सडक बिस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताए ।
सात वर्षदेखि बिस्तार पूरा हुन नसकेको समाचार संकलनका लाग सम्पर्क गर्दा निर्माण व्यवसायी एवम् सरोकार भएका निकायका अधिकारी सम्पर्कमा आउन छाडेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij