वेबटिभी खबर
सर्लाही । मलंगवा नगरपालिका-२ मा करिब ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ ।
नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
गौतमका अनुसार हाल मलंगवा-९ मा रहेको पुरानो बसपार्कबाट बसहरू सञ्चालनमै रहेका र चाँडै नै नयाँ बसपार्कबाट बस सञ्चालन हुने बताइएको छ ।
नयाँ बसपार्क निर्माण भएको करिब ६ महिना भइसकेको भएपनि सञ्चालनका लागि समन्वय भइरहेको र चाँडै नै सबै पक्षसँग समन्वय गरी सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताए । पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारीसाधनको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको हो ।
टर्मिनल भवनसहित निर्माण गरिएको उक्त सुविधा सम्पन्न बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नगरपालिका र मलंगवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकामसमेत रहेको मलंगवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै ठूलो समस्या देखिएको थियो ।
बजारको बीचमा रहेको जनसागर बजारमा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij