Logo

२०८३, कार्तिक २ गते आइतवार

२०८३, कार्तिक २ गते आइतवार

नेपाली चलचित्र ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

नेपाली चलचित्र ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

  • 614
    SHARES
  • नेपाली चलचित्र ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

    काठमाडौं । अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ चलचित्रलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् ।

    निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ । निर्माण कम्पनी डीबीआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँताका चलचित्र छायांकन हुने बताए ।

    उनले भने, ‘हाम्रो चलचित्र गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली चलचित्रको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ ।’

    निर्देशक देसाईले पनि नेपाली चलचित्र गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । निर्देशक देसाईले भने, ‘सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली चलचित्रको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ ।’

    आफू अहिलेसम्म नेपाल नआए पनि नेपाली जीवनशैलीसँग परिचित रहेको उनले प्रतिक्रिया दिए । निर्देशक देसाईले वीरगति र ढोलकी नामक चलचित्र निर्देशन गरिसकेका छन् । यस्तै उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियलसमेत निर्देशन गरे ।

    उनले धेरै चलचित्रमा अभिनय समेत गरेका छन् । उनले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए । चलचित्रमा अभिनेताको रुपमा आर्यन सिग्देल केही दिन अगाडि मात्र अनुबन्धित भइसकेका छन् ।

    नेपाली चलचित्रमा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रुपमा ‘सायरा’ हुने छ । चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित भएका हुन् ।

    आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको चलचित्र ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । चलचित्रका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । 

    उनले चलचित्रको अन्य कास्ट एन्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । चलचित्रमा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन अप पूरा भएपछि पूर्ण रूपमा जानकारी दिने छौँ,’ प्रस्तुतकर्ता रघुले बताए ।

    उनले चलचित्रको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij