वेबटिभी खबर
मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
कोसी अस्पतालमा ५ करोड ४७ लाख ७ हजारको लागतमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई शल्यक्रिया कक्षसहित ४० शय्याको वार्डको आज उद्घाटन गर्दै उनले सरकारले तोकेको समयसम्म चिकित्सकले अस्पतालमा बसी बिरामी उपचार गर्नु बताएका हुन् ।
मन्त्री खापुङले कोसीसहित मुलुकका सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावलाई समाधान गर्ने सम्बन्धमा मन्त्रालयमा छलफल गरी दरबन्दी सिर्जना गरेर पदपूर्तिको व्यवस्था गर्ने जानकारी दिए ।
उनले निजी अस्पतालले स्वास्थ्य बीमा बन्द गर्नाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उल्लेख गर्दै यो समस्या चाँडै समाधान हुने बताए ।
उनले बजेट भाषणमा सरकारी तथा सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा लागू हुने आएकाले यसले अन्यौलता सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई आम जनतासमक्ष व्यवस्थितरूपमा पुर्याउन एउटा कार्यदल निर्माण गरिएको जानकारी दिए ।
मन्त्री खापुङले स्वास्थ्य बीमा सम्बन्धमा छुट्टै ऐन रहेको जनाउँदै मोरङबाहेक अन्य क्षेत्रमा निजी अस्पतालले बीमा लागू गरेको र यस क्षेत्रमा निजी अस्पताले बीमा लागू गर्ने सम्बन्धमा कुराकानी अगाडि बढेकाले चाँडै समाधान हुने बताए ।
स्वास्थ्य बीमा बोर्डले अस्पतालको बीमा रकमको दाबी सम्बन्धमा कार्य गरिरहेकाले चाँडै बीमा रकम भक्तानी गर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij