वेबटिभी खबर
रियो द जेनेरियो । ब्राजिलको रियो द जेनेरियोमा भएको गोलीबारीमा एक प्रहरीसहित २५ जनाको मृत्यु भएको छ । सहरको जकारेजिन्हो क्षेत्रको झुग्गी बस्तीमा प्रहरीले गरेको अपरेशनका क्रममा ती व्यक्तिहरुको ज्यान गएको हो ।
लागूऔषधि तस्करले बालबालिकालाई आफ्नो गिरोहमा भर्ना गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले अभियान सुरु गरेको थियो । प्रहरीले तस्कर समूहमाथि गरेको कारबाहीमा मेट्रो रेलका दुई यात्रीलाई पनि गोली लागेको थियो ।
दुवै यात्री अहिले खतरामुक्त रहेका छन् । ब्राजिलको सिटी प्रहरीले आफ्ना एक प्रहरी अधिकारी आन्द्रे लियोनार्डो दि मेलो फ्रायसको अपरेशनका बेला गोली लागेर मृत्यु भएको पुष्टि गरेको छ ।
ब्राजिल प्रहरीले हालका दिनमा डकैती, हत्या, चोरीतस्करीमा संलग्न गिरोहविरुद्ध अभियान चलाएको छ । तर रियो स्टेट युनिभर्सिटीको लेबोरेट्री फर द एनालिसिस अफ भायलेन्समा समाजशास्त्रका प्रोफेसर इग्नासियो कानोले उक्त अपरेशनमा प्रहरीले देखाएको कारण अस्वीकार गर्दै भनेका छन्, 'ड्रग तस्करहरूले नाबालिगहरूलाई लागुपदार्थको कारोबारको लागि भर्ती गरिरहेको भन्नु भनेको हास्यास्पद हो,सबैलाई थाहा छ नाबालिगले यी गिरोहहरूको लागि काम गर्दै आइरहेका छन् ।'
रियो द जेनेरियो ब्राजिलको सबैभन्दा हिंस्रक राज्यहरू मध्ये एक हो र यसका अधिकांश क्षेत्र अपराधीहरूको नियन्त्रणमा छ, जसमध्ये धेरैजसो शक्तिशाली लागूऔषध समूहसँग सम्बन्धित छ ।
र ब्राजिलका सुरक्षा फौजहरूलाई प्रायः धेरै सहरहरूमा अपराध विरोधी अभियान चलाएर निर्दोष नागरिकहरूमाथि बल प्रयोग गरेको आरोप लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij