वेबटिभी खबर
काठमाडौं । राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ ।
समिति बैठकले रूपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल-भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी-निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि बिभिन्न योजना र रणनीति तयार गर्न समितिको बैठक बसेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको समिति बैठकले चोरी-पैठारी हुन सक्ने शंकास्पद स्थान पहिचान गरेर ती स्थानमा कडाइ गर्ने निर्णय गरेको छ ।
चोरी-निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरूले भारतीय सीमानाकाबाट हुन सक्ने चोरी-पैठारीको उच्च जोखिम रहेका स्थानहरुमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गरिएको छ ।
उनले भने, ‘राजश्व अनुन्धान कार्यालयले सुराकी समेत परिचालन गरि अनुसन्धान कार्यलाई थप बिस्तार गर्ने छ ।’
सिद्धार्थनगरको पक्लिहवास्थित दशगजासँगै जोडिएर लाग्ने गरेको फरेनिया बजारमा नेपालतर्फबाट मानिस आउजाउ गर्दा चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेकाले उक्त स्थानबाट भारततर्फ आउजाउमा लगाइएको रोकलाई निरन्तरता दिने जनाइएको छ ।
उक्त क्षेत्रबाट हुन सक्ने चोरीपैठारी नियन्त्रण गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । वैठकमा भन्सार कार्यालय, सुरक्षा निकायका प्रमुख, आन्तरिक राजश्व कार्यालय भैरहवा,बुटवल, राष्टिय अनुसन्धान, राजश्व अनुसन्धान लगायतका निकायको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij