वेबटिभी खबर
काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय स्थापना भएपछि हर्षित भएका छन् ।
गाउँमा विद्यालय नहुँदा दैनिक घण्टौं हिडेर विद्यालय जान बाध्य यहाँका विद्यार्थीहरू गाउँमै विद्यालय स्थापना भने हर्षित बनेका छन् ।
लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।
नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो ।
विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
माबोहाङले भने, ‘विद्यलायमा बालबालिकाहरूलाई कम्प्यृुटर शिक्षाका साथै दृष्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेका छौँ । गाउँका बालबालिकाहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथै शिक्षालाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो ।’
विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको थियो ।
नगरपालिका सहयोग स्थानीयवासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको हो । भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरुसमेत भएको छ ।
बाल कक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षक सुशीला लिम्बूले बताइन् ।
गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकहरूले स्थानीय सरकार नागरिकहरूको समस्यामा साथमै रहेको महशुस गरेका छन् ।
घर नजिकै विद्यालय नहुँदा नानीहरूलाई विद्यालय पुर्याउन नै समस्या हुँदै स्थानीय वेदना लिम्बूले बताइन् ।
उनी भन्छिन्, ‘गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलो मात्रै भएको छैन हामीलाई समेत राहत मिलेको छ ।’
विद्यालय स्थापनाको लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेका थिए ।
जग्गा प्रदान गर्ने मादेन र उनकी श्रीमती टिकामाया लिम्बूलाई सम्मान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij