वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ को संक्रमण तीव्र रुपमा फैलिएपछि यसको रोकथामका लागि मलेसियाले नेपालसहितका चार मुलुकमा हुँदै आएको उडान रोक्ने भएको छ । मलेसियाका वरिष्ठ मन्त्री इस्माइल साब्री याकोबले बुधबार यस्तो घोषणा गरेको त्यहाँको अखबार द स्ट्रेट टाइम्सले जनाएको छ ।
नेपालसहित श्रीलंका, बंगलादेश र पाकिस्तानलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी छ । मलेसियाले भारतसँग लगाएको यात्रा प्रतिबन्धलाई २८ अप्रिलसम्म रहने जनाइएको छ । पर्यटक र बिजनेस भिजामा आउने यात्रुलाई रोक लगाइएपनि कूटनीतक भ्रमणलाई चाहिँ खुलै राख्ने मलेसियाको तयारी छ ।
नेपालको एक ठूलो श्रम बजारले लगाएको यस्तो अस्थायी प्रतिबन्धले अर्को धक्का लागेको छ । केही दिनयता मलेसियामा कोभिड-१९ संक्रमणमा वृद्धि भएको छ ।
नेपाल सरकारले बिहीबार मध्यरातदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । एयर बबल सुविधाअन्तर्गत सातामा दुईपटक भारतसँगको उडान भने निरन्तर हुने जनाइएको छ । मलेसियाले नेपालमा उडान रोक लगाउने मिति भने तोकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij