Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बसपार्क नहुँदा सडकमै पार्किङको 

बसपार्क नहुँदा सडकमै पार्किङको 

  • 332
    SHARES
  • बसपार्क नहुँदा सडकमै पार्किङको 

    कैलाली । कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन ।

    बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा रहेका छन् । बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नुपरिरहेको बसचालक कृष्ण चौधरीले बताए ।

    ‘बिहानै धनगढीका लागि भजनीबाट पालो पर्छ । राति भजनीमा बस्नुपर्छ ।’ उनले भने, ‘रातभर बस सडकमा पार्किङ गर्नुपर्छ । रातको समयमा बसमा कसैले आक्रमण गर्ने हो कि भन्ने डर मनमा भइरहन्छ ।’

    खुला सडकमा बस पार्किङ गर्नुपर्दा व्यवसायी निकै डराउने गरेका छन् । उनले कैयौं सवारीधनी भजनी रुटबाट सवारी चलाउनै नमान्ने गरेको बताए । रातिको समयमा कतै आफ्नो सवारीसाधन तोडफोड हुने हो कि भन्ने त्रास रातभर हुने गरेको सन्तोष कठरियाले बताए ।

    ‘बिहानै भजनीबाट पालो परेको दिन साँझ भजनी गएर रात बस्नुपर्छ । आफ्नो बसाइ सुरक्षित भए पनि बस सडकमा पार्किङ गर्दा ध्यान रातभर सडकमै हुन्छ’, उनले भने, ‘बसपार्क भजनीका लागि निकै आवश्यक छ । आज बसपार्क नभएकै कारण बस व्यवसायी भजनी आउन नै मान्ने अवस्था छैन ।’

    अहिले भजनीबाट छोटो दूरीमा धनगढी, नेपालगञ्ज र लामो दूरीका लागि काठमाडौँसम्मका लागि बस छुट्ने गरेका छन् । छोटो दूरीमा २० देखि आधा घण्टाको फरकमा बस छुट्ने गरेका हुन् ।

    पूर्व-पश्चिम राजमार्गको सुखडबाट करिब २० किलोमिटरभित्र रहेको भजनी पुग्ने सडकको अवस्था पनि निकै नाजुक छ । एकपटक कालोपत्र भइसकेको सडकको अहिले पुनः मर्मतसम्भार भइरहेको छ ।

    एकातिर सडकको समस्या र अर्को पार्किङको समस्याले भजनी बजारले विकासमा फड्को मार्न नसकेको स्थानीय भोजराम चौधरीको भनाइ छ । बसपार्क नभएकै कारण बजार क्षेत्रमा पार्किङको समस्या भएपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

    दैनिक सवारी चाप बढ्दै गएको छ । भजनी बजारमा व्यवसाय गर्दै आएका हरि देवकोटाको पसलको अगाडि प्रायः सवारीसाधन पार्किङ हुने गरेका छन् । पसलको अगाडि सवारीसाधन पार्किङ हुँदा व्यवसायमा समेत असर परेको उनले बताए ।

    व्यवसायमा त असर परेकै छ, कैयौँ दुर्घटना आँखा अगाडि भएका पनि छन्’, उनले भने, ‘विकल्प छैन्, सवारी चालक पनि रहरले नभई बाध्यताले पार्किङ गर्दै आएका छन् । ट्राफिक प्रहरी पनि निरीह बन्नुपरेको छ ।’

    उनले बसपार्क नभएकै कारण भजनी क्षेत्रबाट सार्वजनिक सवारीसाधनको आवागमनमा कमी आएको भन्दै त्यसलाई स्थानीय सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए ।

    नगरपालिकाले बसपार्कका लागि महुल्याल सामुदायिक वनको खाली जग्गा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णय अहिलेको जनप्रतिनिधिले खोज्दा नभेट्टाएको नगरप्रमुख केवल चौधरीले जानकारी दिए ।

    उनले भजनीको सबैभन्दा ठूलो समस्यामध्ये बसपार्क निर्माण नै भएको बताए । ‘हामीसँग जग्गा भएको भए पनि सहजै काम अगाडि बढाउन सकिने अवस्था थियो । जग्गा छैन, कहाँ, काम कसरी अगाडि बढाउने ?’ उनले भने, ‘अहिले जग्गाको खोजी गरिरहेका छौँ । सम्भवतः जग्गा पाएलगत्तै बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँछौँ ।’

    उनले बसपार्क निर्माणका लागि धेरै बजेट चाहिने र नगरपालिकाको बजेटले निर्माण सम्भव नभएको जनाउँदै यसका लागि संघीय सरकारसँग समन्वय पनि भइसकेको जानकारी दिए ।

    ‘हामीले संघीय सरकारसँग बजेट माग गरेका छौँ, उहाँले जग्गा यकिन भए बजेटमा समस्या नहुने प्रतिक्रिया दिनुभएको छ’, नगरप्रमुख चौधरीले भने, ‘बसपार्कको विषयमा हामी निकै गम्भीर छौँ, लागिरहेका छौँ । आशा गरौँ बसपार्क निर्माण हाम्रैपालामा हुन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij