वेबटिभी खबर
मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं-६ द्वारा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरूरी पनि रहेको स्पष्ट पारे ।
डा.कोइरालाले आगामी संघीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए ।
उनले नेकांले २०७४ को निर्वाचनमा संघीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा संघीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखे ।
कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए । उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहिनताको अन्त्य चाहेको बताए ।
प्रदेश नं-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आगामी निर्वाचनमा जनताको घरघरमा पुगी उनीहरूको मन जितेर मत माग्नुपर्ने बताए । केन्द्रीय सदस्यद्वय डा.डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेस मोरङका उपसभापति एवम् विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई कार्यकर्ता एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे ।
क्षेत्र नं-६ का सभपति देवराज तामाङ, प्रदेशसभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागाई र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्यांकन हुनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij