Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

  • 425
    SHARES
  • ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

    सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइ रहेका छन् ।

    सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन उनीसहितका वृद्धवृद्धा छन् । ओलीले भने, ‘दैनिक दिवासेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।’

    पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गरेका उनका घरमा छोरा बुहारी, नातिनातिना छन् । ८३ वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुग्छन् ।

    ‘भजनकीर्तन र देउडा लगायतका गीत संगीतको धुन बज्दा उत्साह र उमंग थपिन्छ’, उनले भने, ‘आफ्नो दिनको सहारा नै यो सेवाकेन्द्र बनेको छ ।’ धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवाकेन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउछन् ।

    उनले भनिन्, ‘जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।’ दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ/दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ ।

    हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमंग थपिने गरेको देखिन्छ । त्यस क्रममा उनीहरूले जीवनमा भोगेका सुखदुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्ने गरेका छन् ।

    धनगढी उपमहानगरपालिका-२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तनसहितको गीत संगीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो ।

    भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ । सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहेकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताइन् ।

    उनले भनिन्, ‘खाजा र चियाको व्यवस्थापसँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरूलाई राम्रै भएको छ ।’ घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ ।

    वयस्क उमेरमा जस्तो बुढेसकालमा खाने लाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र साहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्धवृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् ।

    वृद्धवृद्धालाई दिउँसोको सयम बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापनाको योजना बनेको थियो ।

    ‘महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सुरुको अवस्थामा ज्येष्ठ नागरिक शीर्षकमा दुई लाख बजेट प्राप्त हुँदा प्रारम्भिक काम सुरु गर्यौ’, केन्द्रका संरक्षकसमेत रहेकी श्रेष्ठले भने ।

    ‘पछि स्थानीय समाजसेवी ईश्वरमान श्रेष्ठ, श्रीमान् श्रेष्ठ, त्रैलोक्यमान श्रेष्ठ र सुवर्णमान श्रेष्ठसहितका सहोदर दाजुभाइले आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा यो भवन निर्माणलाई पूर्णता गरिदिनुभयो ।’

    दुई तले दिवासेवा केन्द्र भवनको पहिलो तल्लामा भजनकीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रो तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताए ।

    ज्येष्ठ नागरिक संघ कैलालीका पूर्वअध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रर्दशक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवासेवा सञ्चालनमा संघले पनि सक्दो सहयोग पुर्‍याइरहेको जानकारी दिए ।

    उनले भने, ‘घरमा छोरा बुहारी, नातिनतिना, छाडेर एकान्त ठाउँ (वृद्धाश्रम)मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुने गरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ ।’

    उक्त केन्द्रले वृद्धवृद्धालाई पटक-पटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक बत्ती कात्ने, जनै बनाउने, कामका साथै च्याउ, प्याज, फलफूलका बेर्ना बनाउने तालिमसमेत दिने गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij