वेबटिभी खबर
काठमाडौं । जिल्लाका १० वटा पालिकाले एक वर्षमा करिब ३ करोड रूपैयाँ विविध शीर्षकमा खर्च गरेका छन् ।
आर्थिक वर्ष ०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक २ करोड ९९ लाख दुई हजार रूपैयाँ विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ ।
१० मध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम पन्चदेवल विनायक नगरपालिकाले विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
साँफेबगर नगरपालिकालिकाको ३७ लाख ३१ हजार र पन्चदेवल विनायक नगरपालिकाको १३ लाख ३३ हजार विविध शीर्षकमा खर्च भएको छ ।
रामारोशन गाउँपालिकाको ३५ लाख ९७ हजार, मंगलसेन नगरपालिकाको ३३ लाख ९० हजार, चौरपाटी गाउँपालिकाको ३० लाख, ढकारी गाउँपालिकाले २५ लाख १६ हजार विविध शीर्षकमा खर्च गरेका छन् ।
तुर्माखाँद गाउँपालिकाले २३ लाख ३१ हजार, मेल्लेख गाउँपालिकाले २० लाख ९६ हजार, वान्नीगढी जयगढ गाउँपालिकाले १६ लाख र कमलवजार नगरपालिकाले १३ लाख ३६ हजार रूपैया विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान नगरी आन्तरिक आयको परिधिभित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।
तर स्थानीय तहले भने उक्त परिधिमा नरहेर खर्च गरेको महालेखा परीक्षक प्रतिवेदनमा भनिएको छ । विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथी सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, खाना खर्च, विपद लगायत शीर्षकमा खर्च गरेको पाइएको छ ।
यसरी खर्च गर्ने शीर्षक नै नभएर भैपरीमा राखिने रकम भनेको पालिकाको प्रमुखको तजबिजमा खर्च गर्न सक्ने रकम हो । यो विविध खर्चको रकम आवश्यकता अनुसार सरकारले विभिन्न क्षेत्रमा रकमान्तर गर्ने गरेका छन् ।
स्थानीय तहलाई महालेखाले खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij