Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

  • 328
    SHARES
  • पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

    बाग्लुङ । राष्ट्रिय गौरवको आयोजनाकारूपमा रहेको कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड अवरूद्ध भएको छ ।

    निरन्तरको वर्षाका कारण बाग्लुङ नगरपालिका-१० दबल्याङमा सडक अवरूद्ध भएको छ भने करिडोरकै फुस्रेखोलामा निरन्तररूपमा सडकमाथिबाट ढुंगा खसिरहेका छन् ।

    बाग्लुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो । दब्ल्याङ हुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए ।

    निरन्तरको वर्षापछि करिडोर अवरूद्ध भएपनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

    करिडोरको दब्ल्याङमा बुधबारदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् भने बाग्लुङ-१३ फुस्रेखोलामा निरन्तर सडक माथिबाट ढुंगा खसिरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउने योजनामा रहेको नगर उपप्रमुख राजु खड्काले बताए ।

    ‘बुधबार दव्ल्याङमा समस्या थिएन, सडकमाथिबाट फुस्रेखोलामा ढुंगा खसिरहेकाले दुर्घटना रोक्न बुधबार (हिजो) देखि नै सवारी सञ्चालनमा रोक लगाएका छौँ’, उपप्रमुख खड्काले भने ।

    ‘पानी नरोकिँदासम्म दब्ल्याङको पहिरो पन्छाउन त सकिएला तर फुस्रेखोलामा ढुंगा खसिरहेकाले समस्या भयो, ढुंगा हटाउन नेपाली सेनालाई सहयोग मागिएको छ ।’

    सडक अवरूद्ध हुँदा दुई दिनदेखि बाग्लुङको दक्षिण भेग जोड्ने बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ ।

    दब्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण एक महिनादेखि बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन करिडोरको सडक प्रयोग गरेर सञ्चालनमा आइरहेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij