Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

  • 308
    SHARES
  • गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक संघले शनिबार आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए ।

    उनले भने, ‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ । यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ ।’ आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले बताए ।

    कोभिड-१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

    सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पुर्याउने काम गरिरहेको उनले बताए । प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरि सरकारले काम गरिरहेको बताए ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उनले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक संघको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उनको भनाइ छ ।

    कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

    कार्यक्रममा कांग्रेस नेता डा.शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् । उनले भने, ‘सरकारले देशको कुल बजेटको जम्मा पाँच दशमलव ७५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ । उक्त बजेट स्वास्थ्य क्षेत्रका लागि एकदमै न्यून हो ।’

    नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताए । जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आगामी दिनमा कांग्रेस आफैँले राख्नुपर्ने उनको भनाइ छ ।

    उनले पार्टी र संसद्का महत्वपूर्ण क्षेत्रमा पेशागत क्षेत्रको प्रतिनिधित्व गराउन सकेमात्र देशको विकास हुने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij