वेबटिभी खबर
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छिन् ।
उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष उनले पाँच लाख आम्दानी लिने लक्ष्य रहेको बताइन् । उनले मकै खेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती रोजेकी हुन् ।
त्यसमा पनि उनले राम्रो आम्दानी गर्न सकिने भएकाले आफ्नो बारीमा बन्दागोबी लगाउकी छिन् त्यसबाट उनले यस वर्ष छ लाख आम्दानी गर्ने लक्ष्य लिएकी छन् । ‘पहिले हामी परम्परागत खेती गर्थे, मकै पाक्न पनि झण्डै सात महिना लाथ्यो, एक कमाइ नै पर्खेर बस्नुपथ्र्यो’, उनले भनिन् ।
‘तर तरकारी खेतीबाट एक वर्षमा तीनपटकसम्म कमाइ सजिलै गर्न सकिन्छ, यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोच जस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।’
अर्का किसान पृथ्वीबहादुर भट्टराई विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । भट्टराईले तरकारी बिक्रीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिँदै आएको बताए ।
‘गाउँ तरकारी खेतीले बाह्रैमास हरियाली हुन्छ, कुनै-कुनै वर्ष तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई’, उनले भने, ‘बजारको समस्या छैन्, अन्न बालीले हाम्रो श्रम र मेहेनत नै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौँ, तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहज मात्रै बनेको छ ।’
बस्नेत र भट्टराई जस्तै यहाँका किसानले तरकारी खेतीबाटै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । यहाँका किसानले एक रोपनीदेखि २० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।
समय-समयमा बन्दामा लाग्ने रोग किराको प्रकोपले किसानलाई सताउने गरेको छ । बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्यक वर्ष किसान हैरान छन् । यस क्षेत्रमा सधैँ मल बीउको भने समस्या हुँदै आएको किसान उमेश खड्काको भनाइ छ ।
सरकारले धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, तेह्रथुमको लालीगुराँस र म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकालाई तरकारीको जोन क्षेत्र भन्ने गरेको छ ।
समयमै मल र बीउ नपाउँदा हैरानी व्यहोर्नुपरेको खड्काको दुःखेसो छ । यो क्षेत्रमा काउली, बन्दा, मुला, गाँजर, आलु, मोटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ ।
यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुँदै आएको छ । यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी भारतीय बजार सिलगुढी र कोलकतासम्म पुग्ने गरेको छ ।
तेह्रथुमको वसन्तपुर, सुङनाम, फुलेक, हमरजुङ, आङदिम, संखुवासभाको तामाफोक र धनकुटाको मूर्तिढुंगा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीबास, भिरगाउँ, तेलियालगायतका सडक दायाँबायाँ गाउँका किसानले उत्पादन गरेको बन्दा बारीबाट काटेको दिन भारतीय बजारमा पुग्ने गरेको सिंधुवा बजारस्थित कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए ।
तेह्रथुमसहित धनकुटा र संखुवासभाका ३० हजार बढी किसान व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । गुरुङका अनुसार बन्दाको खेतीमा लागेका किसानको संख्या पनि १५ हजार नाघेको छ ।
परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानको आर्थिक स्रोत तरकारी खेती बन्दै आएको छ । गाउँ-गाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती पनि फस्टाएको छ भने किसानलाई बजारसम्म पुर्याउन सहज भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij