Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सडक ढलानको काम अलपत्र अवस्थामा

सडक ढलानको काम अलपत्र अवस्थामा

  • 344
    SHARES
  • सडक ढलानको काम अलपत्र अवस्थामा

    खोटाङ । खोटाङ जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो सदरमुकाम खोटाङ बजारको सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ ।

    खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारको सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम १ नं प्रदेश सरकारको २ करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवा कम्पनीले जिम्मा लिएको थियो ।

    ठेकेदारको लापरबाहीका कारण सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि सोलिङ राम्ररी नगरिएको लगायतका त्रुटी देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

    खोटाङ बजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का धुलिखेल निर्माण सेवा कम्पनीले २०७८ असार मसान्तमा सक्नेगरी २०७७ असार ३० गते लिएको थियो । करिब सात सय मिटर आरसिसि ढलान र करिब छ मिटर डिबिएसटी कालोपत्र गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

    सुरुमा खोटाङ बजारमा डिबीएसटी कालोपत्र गर्ने गरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घर भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच (कालोपत्र) गर्ने गरी काम अघि बढाइएको हो ।

    परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम गर्नुपर्ने प्रदेश सरकारसँग गरिएको सम्झौतामा उल्लेख छ ।

    आरसिसि ढलानको काम अन्तिम चरणमा पुगेपनि ठेकेदारको लापरबाहीले पिचको काम अझै सुरु नभएको वडा नं-७ खोटाङ बजारका वडाध्यक्ष एवम् खोटेहाङ गाउँपालिकाका प्रवक्ता शिवप्रसाद फुँयालले जानकारी दिए ।

    खोटाङ बजारको सडक ढलान आयोजनामा निर्माण कम्पनीले यसअघि थपिएको म्यादसमेत गुजारीसकेको निर्माण स्थलमा खटिएा सहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाका इञ्जिनीयर धीरज साहले बताए ।

    ‘सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ७० प्रतिशत मात्र काम सकिएको देखिएको छ’, उनले भने, ‘गुणस्तरहीन काम भएको ठाउँमा ढलान फुटाएर पुनः काम गर्न लगाइएको छ । राम्रो नभए फुटाउने हो, गुणस्तरीय काम गराउने हो । बिग्रेछ भने उनीहरूले नै बेहोर्छ, सम्झौता गर्दा राखेको धरौटी जफत हुन्छ ।’

    स्थानीयवासीका अनुसार निर्माण सुरु गर्दादेखि नै लापरबाही भएको खोटाङ बजारको सडक ढलानको काम अहिले ठप्प छ । महिना दिन अघिदेखि काम छाडेको ठेकेदार कम्पनीले ढलान गर्न विच्छ्याइएको ठाउँबाट फलामे रड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लान थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    बजारको सडक ढलान आफूहरू निर्वाचित भएर आउनुभन्दा अगाडि गरिएका ठाउँमा समस्या देखिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए ।

    ‘हामी निर्वाचित भएर आएपछि गुणस्तर कायम गर्न १५ दिनसम्म रोक्यौं’, उनले भने, ‘अहिले पानीझरिको बहाना बनाएर काम गरेका छैनन् । अब हुने काममा गुणस्तर कायम गराएर तोकिएकै समयमा सम्पन्न गराउँछौं ।’

    सडक ढलानमा ठेकेदारले चरम ढिलासुस्ती गर्नुका साथै काम पनि गुणस्तरहीन गरेको विषयमा जनप्रतिनिधिसमेत मौन बसेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । ठेकेदार कम्पनीले सडक ढलानका लागि निर्माण सामग्री ल्याएर जथाभावी राखेकाले आवतजावतमा समेत समस्या भएको उनीहरूले गुनासो गरेका छन् ।

    सडक ढलानको काम अलपत्र भएको विषयमा जानकारी लिन खोज्दा ठेकेदार कम्पनीका व्यक्तिसँग सम्पर्क हुन सकेको छैन् । अलपत्र अवस्थामा काम छाडेर हिँडेका ठेकेदारलाई दसैँ तिहारपछि काममा फर्काउने गाउँपालिकाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij