वेबटिभी खबर
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जाने तयारीमा काठमाडौं आएका थिए । रूस जानका लागि राहदानी बनाएर काठमाडौं पुगेका उनले तीन महिना भाषासमेत सिकेका थिए ।
विदेश जाने लाग्ने १० लाख रूपैयाँ परिवारले जोहो गर्न नसकेपछि उनी गाउँ फर्किएका हुन् । गाउँ फर्किएका उनी हाल निरन्तर कृषि कर्ममा लागि रहेका छन् ।
सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाई गरेका उनले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नो र भाडामा जग्गा लिएर व्यावसायिक कृषिमा लागेका छन् ।
उनले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गरेका छन् । उनको सात कट्ठा जमिनमा माछा पोखरी छ भने ४० बाख्रा पालेका छन् ।
त्यसैगरी एक बिघा जमिन भाडामा लिएर केरा र भटमास खेती गरेको उनले बताए । यस्तै बाह्र कट्ठा जमिनमा कागती खेतीको सुरुआत गरेको पनि उनले जानकारी दिए ।
भटमास खेती र कागती खेती यसैवर्षदेखि सुरु गरेको उनले बताए । उनले भने, ‘कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ । बीचमा विदेश जाने तयारीमा लागे । तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे ।’
खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको बताए । दोधारा चाँदनीको सुन्दरनगरमा उनले एक बिघा जग्गा वार्षिक ५० हजार भाडा तिर्ने गरि कृषि कर्म गरिरहेका छन् ।
उनले भने, दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयो । तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ ।’
कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पंगेनी कपिलवस्तुमा कृषिमै लागेका छन् । कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उनले बताए ।
उनले भने, ‘कृषि कर्म गर्न घरबाट पनि सहयोग नहुने आफूसँग पनि पैसा भएन । घर परिवारको पनि छोरा कृषिमा लागोस् भन्ने चहना थिएन । सहकारीबाट २० हजार रूपैयाँ ऋण लिएर मैले सुरुआत गरेको हूँ ।’
कृषिमा राम्रो आम्दनी भए पनि विभिन्न समस्याका कारण पलायन हुनुपर्ने अवस्था आउने गरेको खड्काले बताए । कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उनको बुझाइ छ ।
उनले भने, ‘बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ । नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो । हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन ।’
खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताउँछन् । कृषिबाट राम्रो आम्दानी गर्न सकिने बताउँदै उनले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गरे ।
उनले भने, ‘पाँच वर्षमा करिब १० लाख आम्दानी गरेको छु । कृषिबाट राम्रै आम्दानी हुन्छ । स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’
कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक भएको खड्काले बताए । कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उनको भनाइ छ ।
उनले भने, ‘ एउटै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ । त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु । स्थानीय सरकारले हाटबजारको वा संकलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।’
खड्काले दुई जनालाई रोजगारीसमेत दिएका छन् । खोजेको समयमा कामदार नपाउँदा पनि समस्या हुने गरेको उनले बताए । कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताए ।
सरकारको कृषि नीति उत्पादनमुखी नभएको उनको आरोप छ । बीमामा किसानलाई सुविधा छैन । सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij