वेबटिभी खबर
झापा । झापाको कनकाईमा ‘मास लाइट’जडान भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो ।
नगर प्रमुख राजेन्द्र पोखरेलका अनुसार २ करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ ।
एउटा मास लाइट जडान गर्न १६ लाख खर्च हुने नगर प्रमुख पोखरेलले बताए । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुंगा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ ।
‘दुई स्थानमा जडान भइसकेको छ’, पोखरेलले भने, ‘थप दुई स्थानमा जडान जारी छ ।’ सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ ।
भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलो पटक कनकाईमा जडान गर्न लागिएको उनको भनाइ छ ।
हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ । नगरपालिकाले नगर क्षेत्रमा सीसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij