वेबटिभी खबर
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण बनेका हुन् ।
भवनबाट पानी चुहिने, खानेपानीको समस्या र शौचालय पनि जीर्ण छन् । विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । ‘भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन्’, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भने ।
‘यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौं ।’ पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उनले बताए ।
केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको ३ लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो ।
उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुईसय २२ विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्नका लागि पहल भइरहेको वडाध्यक्ष शंकर खड्काले बताए ।
उक्त विद्यालय पुरानो भएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । त्यहाँको खानेपानीको संरचना, शौचालय पनि निकै जीर्ण अवस्थामा रहेकाले त्यसको सुधारका लागि पहल भइरहेको उनले जानकारी दिए ।
त्यस आसपासका बालबालिकालाई अध्ययन गर्न उक्त विद्यालयमा निकै सहज हुने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij