Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

डायलायसिसको पालो नपाउँदा समस्या

डायलायसिसको पालो नपाउँदा समस्या

  • 339
    SHARES
  • डायलायसिसको पालो नपाउँदा समस्या

    दाङ । रुकुम भुमे गाउँपालिका-९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौला पीडित छन् । दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलायसिस गर्दै आएका छन् ।

    केही समय काठमाडौंमा डायलायसिस गरेपछि दाङको लमहीमा डायलायसिसका लागि गएका थिए । छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो ।

    सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २०७८ साउन १२ गते नाम दर्ता भयो । तर त्यो नाम दर्तामा मात्रै सीमित भयो । उनलाई तुलसीपुर ल्याउन सकिएन । उनको लमहीमा उपचारकै क्रममा मृत्यु भयो ।

    रोल्पा त्रिवेणी गाउँपालिका-२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलायसिस गर्नका लागि नाम दर्ता गराएका थिए । २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उनले पालो पाउन सकेका छैनन् ।

    त्यस्तै शान्तिनगर गाउँपालिका दाङ निवासी २२ वर्षीय प्रताप चौधरी पनि तुलसीपुर आउनका लागि २०७८ साउनमै नाम दर्ता गराएका थिए । तर उनले पनि अहिलेसम्म पालो नपाएपछि लमहीस्थित डायलायसिस सेन्टरमा उपचार भइरहेका छन् ।

    राप्ती प्रादेशिक अस्पतालमा पाँचवटा डायलायसिस मेसिन चालु अवस्थामा छन् । त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि मात्रै आठवटा मेसिन पठाएको छ ।

    तर त्यो जडान हुनसकेको छैन् । नयाँ मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलायसिस प्रमुख लीना बडेलले बताइन् ।

    ‘अहिले हामीसँग पाँचवटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ’, उनले भनिन्, ‘अब थप आएका आठवटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।’

    अहिले प्रादेशिक अस्पतालमा ८० बिरामी पालो कुरिरहेका छन् । अस्पतालमा कर्मचारीको पनि समस्या हुने गरेको उनले बताइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अहिले पाँचवटा बेडमात्रै छन् । जसबाट २५ जनालाई सेवा दिन सकिएको छ ।

    मन्त्रालयले केही दिनअघि मात्रै १० वटा डाययलायसिस मेसिन पठाएकाले त्यो जडान भएपछि भने सहज हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

    भट्टराईका अनुसार अहिले ४० जनासम्म डायलायसिसको प्रतिक्षामा रहेको भन्दै नयाँ आएका मेसिन जडान भएपछि भने सबैले सहज सेवा पाउने छन् । त्यस्तै लमहीमा पनि अहिले करिब ८० जना डायलाइसिसको प्रतिक्षामा छन् ।

    अहिले २४ जनाको डायलायसिस गरिएको छ । ठाउँ पनि आवश्यक पर्ने भएकाले थप मेसिन ल्याउन नसकिएको  चिकित्सक डा.अबदुस बुथ खानले जानकारी दिए ।

    लमहीमा रोटरी क्लब अफ लमही र गौतमबुद्ध मुटुरोग अस्पतालले उक्त डायलायसिस सेन्टर सञ्चालनमा ल्याएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij